विजयपुर । कोका खोलाको पानी धरानमा झरेको छ । श्रमदान र सहयोगीबाट सञ्चालित कोका खानेपानी अभियानको पानी धरान झरेको हो ।
सोमबार कोका खोलाको पानी धरान–२० स्थित पकुवा खोलामा झरेको थियो । पकुवा खोलामा खसालेर ‘वास आउट’ गर्ने कार्य गरिएको छ । धरानका नगरप्रमुख हर्कराज राईले सय दिनअघि श्रमदानबाट कोका खोलाको काम सुरु गरेका थिए ।
खानेपानी झरेपछि मङ्गलबार खानेपानीको अभाव झेलिरहेका धरानेले नौमती बाजासहित उत्सव मनाएका थिए । कोका खोलादेखि पकुवा खोलासम्म ४२ किलोमिटर दूरी रहेको बताइएको छ । पकुवादेखि धरानको ट्याङ्कीसम्म ७ किलोमिटर दूरी रहेको बताइएको छ । खानेपानी ‘ग्राभेटी फ्लो’ मार्फत् ल्याइएको हो । पानी खसालिएको पकुवा खोलादेखि मुहानको दूरी ३५ किलोमिटर छ ।