भद्रपुर । दुई दिनअघि न्वारानको भोज खाएका मेचीनगरका स्थानीयहरु बिरामी भएपछि अस्पतालमा उपचार भइरहेको छ ।
मेचीनगर–९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिए ।
बिरामीहरुको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा फुड पोइजनका कारण स्थानीयहरु बिरामी भएको अस्पतालले जनाएको छ ।
स्थानीयहरुमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तामाङका अनुसार २७ जनाको उपचार भइरहेको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले विहीबारसम्म डिस्चार्ज हुने अस्पताल प्रशासनले जनाएको छ । बिरामीहरुको उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् । शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको छ ।
गर्मी मौसमका कारण खानेकुराहरु लामो समय बाहिर राख्न र पकाउने बितिक्कै सेवन गर्न चिकित्सकले सुझाएका छन् ।