धरान । ओलम्पिक डेको अवसरमा धरान गल्फ कोर्षमा १८ वर्ष र १३ वर्षमुनिका बालबालिकाहरूबीच शनिबार गल्फ प्रतियोगिता गरिएको छ ।
नेपाल गल्फ एसोसिएसनको आयोजनामा उनीहरूलाई ९ होल ३४ पारको प्रतिस्पर्धा गराइएको हो । पार ७० को कोर्ष रहे पनि स्टेबल फोर्डका आधारमा ३४ पारको मात्रै प्रतिस्पर्धा गराइएको हो । प्रतिस्पर्धामा १८ वर्षमुनिका केटा र केटी साथै १३ वर्षमुनिका केटा र केटीलाई नै पुरस्कृत गरिएको छ ।
धरान गल्फ क्लबको संयोजनमा भएको प्रतियोगितामा १८ वर्षमुनिका केटामा प्रकृत तामाङले स्वर्ण पदक जिते । यस्तै सिद्धान्त सापकोटाले कास्य र उज्वल राईले रजत पदक जितेका थिए । यस्तै केटीतर्फ वेनिसा राईले स्वर्ण जित्दा जुनतारा राईले कास्य र याङ्नु राईले रजत पदक जितेकी थिइन् ।
यस्तै १३ वर्षमुनिको केटातर्फ दीपेश श्रेष्ठले स्वर्ण पदक जित्दा अर्थात राईले कास्य र आयुस बास्फोरले रजत पदक जितेका थिए । केटीतर्फ खुसी राईले स्वर्ण पदक जित्दा सायाबुङ्मा राईले कास्य र मान्यता राईले रजत पदक जितेकी थिइन् । यस्तै नियरेस्ट टु दि पिन र लङ्गेस्ट ड्राइभलाई पनि पदक प्रदान गरिएको धरान गल्फ क्लबका सचिव भरत घिसिङले जानकारी दिए ।
विजेताहरूलाई नेपाल गल्फ एसोसिएसनका उपाध्यक्ष तिलक राई र धरान गल्फ क्लबका उपाध्यक्ष हरिबहादुर राईले पुरस्कार वितरण गरेका थिए । विजेताहरूलाई मेडल तथा प्रमाण–पत्र वितरण गरिएको थियो भने सहभागीलाई प्रमाण–पत्र वितरण गरिएको उनले जानकारी दिए । प्रतियोगितामा ३५ जना खेलाडी सहभागी थिए ।