गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए । 

घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् । 

घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए ।