धनकुटा । प्रतिनिधिसभा सदस्य एवं पूर्व कृषि मन्त्री छविलाल विश्वकर्माले संवैधानिक व्यवस्था माथि प्रश्न चिन्ह उठाउन खोज्नेहरू प्रति नेपाली जनता सजग र सचेत हुनु पर्नेमा जोड दिएका छन् । 
दलित महिला संघ (फेडो) जिल्ला कार्य समिति, धनकुटाले बुधबार पर्यटकीय नगरी हिलेमा आयोजना गरेको २ दिने ‘कोशी प्रदेश स्तरीय दलित महिलाहरूको राजनीतिमा पहुँच र आर्थिक आत्मनिर्भरता विषयक कार्यशाला गोष्ठी’ को उद्घाटन गर्दै पूर्व मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानले प्राप्त संवैधानिक उपब्धिहरुलाई रक्षा गर्न चुनौती आइलागे, सामना गर्न नेपाली जनता तयार हुनु पर्नेमा विश्वकर्माले जोड दिए । 
नेपालको लोकतान्त्रिक शासन व्यवस्थामा समावेशितालाई हिजोको दिनमा स्थापित गर्न त्यति सजिलो नरहेको स्मरण गर्दै पूर्व मन्त्री विश्वकर्माले भने– ‘लाखौँ नेपाली जनताको त्याग र बलिदानले सघीय शासन व्यवस्था स्थापित भएको हो ।’
संघीय लोकतान्त्रिक व्यवस्थालाई स्थापित गर्न नेपालका दलितहरूले पनि अग्र मोर्चामा रहेर योगदान गरेको पूर्व मन्त्री विश्वकर्माको दाबी गरे । अहिलेको व्यवस्था माथि कोही कसैले प्रश्न चिन्ह उठाउँछन् भने, जस्तो सुकै मूल्य चुकाउन पनि अहिलेको युवा पुस्ता तयार हुनु पर्ने नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका पूर्व मन्त्री विश्वकर्माको जोड थियो । 

उनले आज संविधानको बाध्यकारी व्यवस्थाले गर्दा स्थानीय सरकारमा जनप्रतिनिधिको रूपमा दलितहरूको उपस्थिति सम्भव भएको बताए । दलित जनप्रतिनिधिहरूलाई इङ्गित गर्दै पूर्व मन्त्री विश्वकर्माले भने–लक्षित गरिएको समुदायलाई विनियोजन गरेको बजेट सही ढङ्गले कार्यान्वयन भइरहेको छ कि छैन दलित जनप्रतिनिधिहरूले निगरानी गर्नु पर्छ ।’

कार्यशाला गोष्ठीमा त्रिभुवन विश्वविद्यालय किर्तिपुरका मानव शास्त्र केन्द्रीय विभागका प्रमुख डा. डम्बर चेम्जोङले ‘नेपाली समाजको चरित्र र दलित मुक्तिको सवाल’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा डा. चेम्जोङले भने–‘मुक्तिको कुरा गर्ने हो भने सङ्घर्ष, आन्दोलन विना सम्भव छैन ।’  प्रदेश नं.१ मा भइरहेको कोशी नाम विरुद्धको आन्दोलनलाई लक्षित गर्दै डा. चेम्जोङले भने–‘सामाजिक र सांस्कृतिक मुक्तिको लागि पहिचानवादीहरू आन्दोलन गरिरहेका छन्, यो आन्दोलन अब सातै प्रदेशमा उठ्न सक्छ ।’ 

त्यसै गरी भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष पूर्व अध्यक्ष एवं राष्ट्रिय दलित पत्रकार संघका कोशी प्रदेश सचिवालय सदस्य नैन विश्वकर्माले पनि कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ‘दलित समुदायको वर्तमान अवस्था, सरकारमा दलित समुदायको उपस्थिति र आगामी कार्यभार’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रस्तुत कार्यपत्र माथि दलित एकता समाज धनकुटाका सचिव रवीन्द्र नेपाली, सदस्य मदन बसेल, देवबहादुर विश्वकर्माले टिप्पणी गरेका थिए । दुवै कार्यपत्र माथि सुझावको रूपमा पूर्व राष्ट्रिय सभाका सदस्य एवं पूर्व माननीय खेम नेपाली, कोशी प्रदेश सभा सदस्यद्धय निरन राई, इन्द्रमणी पराजुली, इन्दिरा थापा, दलित आन्दोलनका अभियान्ताहरु बोम बहादुर विश्वकर्मा अनुभूतिवम नेपाली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

दलित महिला संघ धनकुटाकी अध्यक्ष यज्ञकुमारी रुचाएको अध्यक्षतामा सम्पन्न २ दिने कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र धनकुटामा कार्यरत पत्रकार सरिता बराइली, माननीय प्रदेशसभा सदस्य कमला दर्नाल,महिला संघ धनकुटाका संस्थापक अध्यक्ष इन्दिरा घले, महालक्ष्मी वडा नं।६ का वडाध्यक्ष शिवराम विश्वकर्मा लगायतलाई दोसल्ला, सम्मान पत्र ओढाएर सम्मान गरिएको थियो । 
सम्मानित हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री छविलाल विश्वकर्माले सम्मान गरेका थिए । सहभागी अतिथिहरूलाई संस्थाको तर्फबाट मायाको चिनो वितरण गरिएको थियो भने कार्यक्रम धनकुटाका सात वटै पालिकाहरूको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।