संखुवासभामा बाढीले पुल बगाएपछि उक्त स्थानमा चाँडो पुल निर्माण गर्न मन्त्रीसमक्ष माग गरिएको छ ।
संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले हिजो शहरी विकासमन्त्री सीता गुरुङलाई भेटेर यही असार २ गते आएको बाढीले हेवाखोला र पिलुवाखोलामा रहेका दुई वटा पक्की पुल बगाएको भन्दै उक्त पुल चाँडो निर्माण गर्न माग गरेको हो ।
भेटमा सांसद खड्काले बाढीले पक्की पुल बगाउँदा चैनपुर र पाँचखपनमा आवातजावतको समस्या भएको भन्दै चाँडो पुल निर्माणका लागि मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन् । ‘संखुवासभामा आएको बाढीले पक्की पुल र झोलुङ्गे पुल बगाउनुका साथै १९ घर विस्थापित भएका छन्, पुल चाँडो निर्माण र विस्थापित जनतालाई चाँडो बासको व्यवस्था होस्;, सांसद खड्काले भने ।
उक्त बाढीपहिराले संखुवासभाका १० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । भेटमा मन्त्री गुरुङले संखुवासभासहित पूर्वी पहाडी जिल्लामा बाढीपहिराले पु¥याएको क्षतिबारे सरकार जानकार रहेको भन्दै पुल निर्माणका लागि सरकारी टोलीलाई घटनास्थलमा खटाइसकिएको जानकारी दिइन् । ‘झोलुङ्गे पुल निर्माणको कामलाई तत्काल अगाडि बढाउँछौँ, बेलिब्रिज निर्माणका लागि आवश्यक निकायसँग सहकार्य गरेर चाँडो काम थाल्छौँ”, मन्त्री गुरुङले भनिन् ।
मन्त्री गुरुङले आगामी वर्षका लागि भैपरी आउने खर्च र बेलिब्रिजका लागि शहरी विकास मन्त्रालयले बजेट विनियोजन गरे पनि चालु आवका लागि भने बेलिब्रिज निर्माणमा केही जटिलता रहेकाले सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर काम अगाडि बढाइने बताइन् ।