धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ बयरवनस्थित हरिद्वार कृषि सहकारी संस्थाले बेसार तथा मसला प्रशोधन उद्योग सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुनसरीको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लागतमा सुरु भएको उद्योगले स्थानीय कृषकहरूले उत्पादन गरेको बेसार प्रशोधन र प्याकेजिङ सुरु गरेको छ । ‘वराह बेसार’ नाममा ब्रान्डिङ गरी उत्पादन गरिएको बेसारको धुलो केही महिनामा बजारमा पठाउने सहकारीले जनाएको छ ।
उद्योगले बेसार र अन्य मसलाको प्रशोधन र प्याकेजिङका साथै किसानहरूसँग मकै खरिद गरेर पिठो बनाई प्याकेजिङ र ब्रान्डिङ गरेर बजारमा पठाउने भएको छ । साथै स्थानीय कृषकहरूलाई सहुलियत दरमा धान, मकै लगायतका अन्नबालीको कुटानी पिसानीसमेत गरिने सहकारीका अध्यक्ष लोकबहादुर दाहालले बताए ।
जोनमार्फत् हरिद्वार सहकारीले यसअघि किसानहरूलाई चक्लाबन्दी खेतीका लागि अनुदानमा ट्याक्टर वितरण, पक्की पानी ट्याङ्की निर्माण जस्ता कार्यक्रम सञ्चालन गरेको थियो । सहकारीले उद्योग सञ्चालनमा ल्याएपछि बेसार उत्पादक कृषकहरू उत्साहित भएको वराहक्षेत्र–१ सूर्यकुण्डका कृषक हेमकुमार राईले बताए ।
सुनसरीमा २०७३ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत अदुवा बेसार जोन सञ्चालन भए पनि हालसम्म प्याकेजिङ गरेर बजारमा आउन सकेको थिएन । हरिद्वार सहकारीले उद्योग सञ्चालनमा ल्याएपछि किसानहरूलाई सहज भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुनसरीका प्रमुख देविन्द्र साहु बताउँछन् । उनी भन्छन्, ‘किसानहरूलाई अदुवा बेसार उत्पादनका लागि हामीले विभिन्न सहयोग गर्दै आएका थियौं, तर हालसम्म प्याकेजिङ गरेर बजारमा आउन नसकेको अवस्थामा यो उद्योगले किसानलाई धेरै सहज बनाउने आशा गरेका छौं ।’