पूर्वतयारी र पूर्वसूचनामा ध्यान नदिँदा मनसुनसँगै सुरु भएको बाढी, पहिरो, अत्यधिक वर्षालगायतका मनसुनी विपद्का कारण मुलुकभर १० अर्बभन्दा बढीको क्षति भएको छ । जेठ ३१ यता भएको मनसुनजन्य विपद्का घटनाबाट हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् ।
यसबीचमा मनसुनजन्य विपद्बाट प्रभावित ६४ जिल्लामा २५ जना बेपत्ता र ३५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बताए । मनसुनजन्य घटनाबाट ५४ घर पूर्ण रुपमा र २० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।
यस्तै २६४ वटा पशु चौपायाको क्षतिसहित ६ करोड १६ लाखको नोक्सानी भएको प्राधिकरणले जनाएको छ । खेतीयोग्य जमिन र बालीनालीमा भएको क्षतिको विवरण सरकारले निकालेको छैन । साथै, विभिन्न राजमार्गका ९ वटा पुलसहित ६६ स्थानमा सडक क्षति हुँदा ४० करोडको नोक्सान भएको प्राधिकरणले जनाएको छ । ताप्लेजुङ र पाँचथरमा ११/११ गरी २२ वटा झोलुंगे पुल बगाउँदा १२ करोड १० लाख ८८ हजारको रुपैयाँको क्षति भएको गृह मन्त्रालयको तथ्यांकमा छ ।
निर्माणाधीन ठूला जलवविद्युत आयोजनहरुमध्ये ३२६.८६ मेगावाट क्षमताका १७ वटा आयोजनामा २ अर्ब ६२ करोड र सञ्चालनमा रहेका १३२.७४ मेगावाट क्षमताका १३ वटा आयोजनामा ५ अर्ब ९२ करोड बराबरको क्षति भएको प्राधिकरणका कार्यकारी निर्देशक पोखरेलले बैठकमा प्रस्तुत गरेको विवरणमा छ । यस्तै, ३१ वटा लघु जलविद्युत आयोजनाहरुमा ४४ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसरी जलविद्युत आयोजनाहरुमा भएको क्षति ९ अर्ब पुगेको छ ।
पूर्वतयारी र पूर्वसूचनाको क्षेत्रमा चासो कम हुँदा अर्बौंको क्षति हुने गरेको छ । शुक्रबारसम्म संघीय सरकारले २० लाख रुपैयाँ राहत तथा उद्धारमा खर्च गरेको जनाएको छ । यस्तै, २ हजारवटा त्रिपाल, ३४ वटा टेन्ट र १५० वटा ब्ल्यांकेट प्रभावित क्षेत्रमा पठाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल विगतको तुलानामा विपद् प्रतिकार्य योजना चुस्त रहेको बताए पनि अचानक हुने वर्षा र पहिरोका घटना सम्बन्धमा तयारी अझै नपुगेको उनले बताए । ‘राहत तथा प्रतिकार्यका लागि टिम र बजेट पर्याप्त छ तर कुन ठाउँमा कुन बेला पहिरो जान्छ त्यस सम्बन्धीको जानकारी कम छ,’ उनले भने ।
दुई वर्षअघि सिन्धुपाल्चोकको हेलम्बुमा बगाएको बेलिब्रिज पुल जडानका लागि ६ महिनासम्म लाग्दा यस वर्ष हेवाखोलामा बाढीले बगाएको पुलको वैकल्पिक बेलिब्रिज बनाउन समयमै टोली पठाइए पनि हालसम्म निर्माण कार्य सम्पन्न भएको छैन ।