झापा । मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बू सोमबार विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार दिउँसो १२ बजेतिर खाना खाइसकेका बालक कक्षा कोठामा नभेटिएपछि खोजी गर्दा शौचालयको सेफ्टी ट्याङ्कीभित्र डुबिरहेको फेला परेका थिए । घाइते बालकलाई उद्धार गरेर तत्काल बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

बालकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले विद्यालयको लापरबाहीका कारण बालक सेफ्टी ट्याङ्कीमा डुबेको बताए । सो विद्यालय दर्तासमेत नरहेको उनले बताए । विद्यालयमा ६४ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय भवनपछाडिको शौचालयको ढोकाछेउमै सेफ्टी ट्याङ्की रहेको र ट्याङ्कीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापरबाहीपूर्वक छोपिएका कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको हुनसक्ने वडाध्यक्ष खनालले बताए ।