बिर्तामोड । शैक्षिक परामर्श सङ्घ (इक्यान) को ९ औं अधिवेशनमा शैक्षिक सुधारका निम्ति भन्दै झापाका सुमन शर्मा जमरकट्टेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययनका गर्न पठाउँदै आएको इक्यानले आगामी दिनमा नेपाललाई शैक्षिक हब बनाउने एजेण्डा अगाडि सारेको छ । सो एजेण्डा पूरा गर्न आफ्नो योगदान रहने भन्दै शर्माले उम्मेदवारी दिने बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

बोष्टन एजुकेशन फाउन्डेसनका सञ्चालकसमेत रहेका जमरकट्टेलले सरकारको उदासिनताका कारण शैक्षिक क्षेत्रमा नेपाल पछि पर्दै गएको बताएका छन् । विद्यार्थीहरूलाई विदेशमा पढ्न मात्र पठाउने नभई विदेशका विद्यार्थीहरूलाई नेपालमा पढ्न आउन प्रेरित गर्ने अभियानलाई योजनाका रूपमा अगाडि बढाउने लक्ष्य रहेको जमरकट्टेलले बताए ।

असार ३० गते काठमाडौंमा ईक्यानको अधिवेशन हुँदैछ । ईक्यानमा ९ जना पदाधिकारी र ६ जना सदस्य निर्वाचित हुन्छन् । अध्यक्षको लागि ४ जना चुनावी मैदानमा रहने घोषणा गरेका छन् । खासगरी उपत्यका बाहिरका कन्सल्टेन्सीलाई ईक्यानको वर्तमान नेतृत्वले गरिरहेको व्यवहार विभेदपूर्ण रहेकाले त्यसको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको जमरकट्टेलले बताए । जमरकट्टेल कोशी प्रदेशबाट केन्द्रीय सदस्यका साझा उम्मेदवार हुन् ।