बिर्तामोड । विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा खसेर गम्भीर बनेपछि अस्पताल भर्ना गरिएका बालक तान्छोक लिम्बूको निधन भएको छ । ८ वर्षीय लिम्बु सोमबार खाजा खाएर शौचालय जाँदा सेफ्टी ट्यांकीमा खसेर गम्भीर घाइते भएका थिए ।

घटना लगत्तै लिम्बुलाई उपचारको लागि बिर्तामोड ल्याइएको थियो । उनको उपचारको क्रममा मंगलबार बिहान १०ः३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

धुलाबारीको सानो साथी किन्डर गार्टेनमा पढ्ने ८ वर्षीय लिम्बू शौचालयको ढोकाअगाडि रहेको सेफ्टी ट्यांकीभित्र खसेका थिए । सेफ्टी ट्यांकीको प्वाल छोप्न प्लाई लगाइएको थियो । सो प्लाई पनि मक्किएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।

विद्यालयका सञ्चालक मनोज गुरूङले बालक सेप्टिक ट्यांकमा डुबेको थाहा पाएपछि आफैँ ट्यांकभित्र पसेर निकालेका थिए । त्यसपछि अस्पताल पनि उनैले पुर्याएका थिए । उनलाई बेहोश अवस्थामा उद्दार गरी सोमबार दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो ।

चिन्ताजनक अवस्थामा रहेका बालक लिम्बुको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । बालक लिम्बूको फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा गम्भीर समस्या भएकाले सुधार हुन कम्तिमा ४८ घण्टा पर्खनुपर्ने चिकित्सकले बताएका थिए ।

बिरामीलाई सास फेर्न निक्कै गाह्रो भएपछि भेन्टिलेटरमा राख्ने गरिन्छ । भेन्टिलेटरमार्फत बिरामीको वायुमार्ग हुँदै फोक्सोमा अक्सिजन पुर्याउने काम गरिन्छ ।  पानीमा डुब्दा दुषित पानी धेरै खाएकाले बालकको ठुलो आन्द्रामा समेत समस्या आएको तथा निमोनिया समेत भएको चिकित्सकले बताएका थिए ।

यसैबीच, लापरवाही ढंगले मन्टेश्वरी सञ्चालन गरेको भन्दै प्रहरीले त्यसका सञ्चालक गुरुङलाई सोमबार नै पक्राउ गरेको थियो । पक्राउ परेका गुरुङमाथि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार जाहेरी के शीर्षकमा पर्छ, त्यहीअनुसार गुरुङमाथि कारबाही अघि बढाइनेछ । बालकको निधनपछि अप्रिय घटना हुन नदिन विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।