धरान । सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको ‘९–एन–एमभी कलसाइन’ को हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा पाँचजना मेक्सिकन नागरिकसहित पाइलटको निधन भएको छ ।

माउन्टेन फ्लाइट गरेर काठमाडौँ फर्किंदै गरेको अवस्थामा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरा नजिक रुखमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको अनुमान गरिएको छ । मङ्गलबार १० बजेर ५ मिनेट जाँदा उडेको हेलिकोप्टर करिब ८ मिनेट नबित्दै सम्पर्कविहीन बन्न पुगेको थियो । सुर्केस्थित हेलिप्याडबाट उडेको हेलिकोप्टर १० बजेर १३ मिनेट जाँदा लुक्ला टावरसँग सम्पर्कमा आएको जनाइएको छ । त्यसपश्चात् काठमाडौँसँग सम्पर्कमा आउनुपर्ने भए पनि सम्पर्कमा नआएका कारण काठमाडौं विमानस्थलस्थित खोज तथा उद्धार केन्द्रले खोजका लागि तुरुन्त अल्टिच्यूड एयरको दुई हेलिकोप्टर सम्बन्धित क्षेत्रमा पठाएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईका अनुसार पाँचजना मेक्सिकन नागरिक र चालक दलका पाइलट चेतबहादुर (सीबी) गुरुङको पनि मृत्यु भएको हो । मेक्सिकन नागरिकहरू दिल्ली हुँदै १५ दिनको भिजिट भिसा लिई नेपाल आएको बुझिएको छ । उनीहरू उत्तरी मेक्सिकोको कोआहुइला र निउभोलियोनवासी रहेको जनाइएको छ । ज्यान गुमाउनेमा एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेस रहेको जनाइएको छ । पाइलट गुरुङ यसअघि पनि सोलुखुम्बुको लुक्ला हेलिप्याडमा रहेका बेला दुर्घटनामा घाइते बन्न पुगेका थिए । त्यसबेला भने आफै दुर्घटना नभई समिट एयर धावनमार्गबाट चिप्लिएर हेलीप्याडमा राखिएको श्री एयर र मनाङ एयरमाथि बज्रिन पुग्दा गुरुङ घाइते बनेका थिए । तीन महिनासम्म उपचारपछि मात्रै उनी सामान्य जीवनमा फर्किएका थिए ।

यो घटना २०७६ वैशाख १ गते भएको थियो । त्यसबेला बल्लतल्ल ज्यान बचाएका ५५ वर्षीय गुरुङको मङ्गलबार ज्यान गएको छ । लामो समयदेखि उनले यही हेलिकोप्टर उडाउँदै आएका थिए । जतिबेला दुर्घटनामा परी घाइते भएका थिए; त्यो बेला पनि सोही हेलिकोप्टर उडाउँदै आएका थिए । करिब २५ वर्षयतादेखि उनले विभिन्न कम्पनीका हेलिकोप्टर उडाउँदै आएका थिए । प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार रुखमा ठोक्किएका कारण दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।

यसैबीच सरकारले दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । उनले जनकपुरको कार्यक्रमपश्चात् सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । उनले आज (बुधबार) सम्म समिति बनाई काम सुरु गर्ने जनाए । मृतकहरूको शव काठमाडौँ ल्याउने तयारी गरिए पनि बाक्लो हुस्सुका कारण सम्भव नभएको जनाइएको छ ।