पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–१ को खाल्डे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सोही वडाका वसन्तकुमार चाम्लिङले १ लाख ८ हजार १ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोष रकम चाम्लिङ र उनकी श्रीमती भद्रमाया चाम्लिङले विद्यालयलाई हस्तान्तरण गरेका थिए । अक्षयकोषको ब्याजबाट अतिविपन्न, अनाथ, असहाय र दैवी विपत्तिमा परेका जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरेको अक्षयकोषदाता चाम्लिङले बताए ।

विद्यालयमा यसअघि पनि पौडेल परिवारले १ लाख ५१ हजार रुपैयाँको ‘स्व. खम्बसिं पौडेल’ अक्षयकोष स्थापना गरेका थिए । योसँगै २ लाख ५९ हजार १ रुपैयाँ अक्षयकोष स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क पौडेलले बताए । यसैबीच विद्यालयका पूर्वशिक्षक एगेन्द्रबहादुर खड्काको पनि सोही कार्यक्रममा बिदाइ गरिएको छ ।

स्रोतव्यक्ति, गाउँपालिकाको शिक्षा अधिकृत हुँदै विद्यालयको प्रधानाध्यापकसमेत भएका खड्काको अवकाशपछि बिदाइ गरिएको हो । खड्काले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आफूले पनि २ लाख ५० हजारभन्दा बढी अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।