धनकुटा । स्यालले टोकेर धनकुटा बजारक्षेत्रका ९ जना घाइते भएका छन् । उनीहरूलाई मङ्गलबार दिउँसो स्यालले आक्रमण गरेको हो ।

धनकुटा नगरपालिका वडा नं.४, ५ र ७ का ९ जनालाई स्यालले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । नगरका विभिन्न वडामा स्थानीयलाई टोकेकाले स्यालको सङ्ख्या कति भन्ने एकिन हुन नसकेपछि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

धनकुटा नगरपालिका वडा नं.७ को पाङ्सिङ टोल, शीतलपाटी, बालमन्दिरलगायत क्षेत्रका स्थानीयलाई आक्रमण गरेर जङ्गली स्यालजस्तो देखिने उक्त जनावरले आतङ्क मच्चाएको हो । मङ्गलबार धनकुटा न.पा.–५ का प्रेमबहादुर याक्खा, शर्मिला लिम्बू र ९ वर्षीया प्रस्ना सुनामलाई स्यालले टोकेको छ । आफ्नो छोरी प्रस्ना मङ्गलबार साँझ पानी लिन कुवामा गएका बेला जनावरले आक्रमण गरेको बालमन्दिर–५ की स्थानीय दीपिका राईले बताइन् ।

यता धनकुटा–७ शीतलपाटीकी पवित्रा राई, धनकुटा–७ का धीरज राई, नरबहादुर मगर, सपुतकुमारी राई, ४२ वर्षीय शुक्रबहादुर राई र १३ वर्षीय उत्सव लिम्बूलाई पनि स्यालले आक्रमण गरेर घाइते बनाएको छ । जनावरको आक्रमणबाट उनीहरूको हात, खुट्टा, टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । आफ्नो भाइ र आफूलाई पनि टोके पछि र गाउँमा मान्छेलाई जथाभावी आक्रमण गर्दै हिँड्न थालेपछि प्रतिकार गर्ने क्रममा सो जनावर पनि मारेको धनकुटा–७ का शुक्रबहादुर लिम्बूले बताए ।

घाइतेहरूलाई जिल्ला अस्पताल धनकुटामा एआरभी, टीटी र इमीनो ग्लोमिन भ्याक्सिन लगाई उपचार गरिएको छ । मान्छेलाई आक्रमण गरेर आतङ्क मच्चाउने जङ्गली जनावरलाई धनकुटा–७ पाङ्सिङ टोलमा स्थानीयले मारिदिएका छन् । उक्त जनावरले कुकुरलाई समेत टोकेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।