विराटनगरमा सुरु भएको दोस्रो संस्करणको एसईई कप अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा तीनवटा स्कुल विजयी भएका छन् ।
विराटनगर–१ स्थित डन बस्को स्कुलको खेलमैदानमा सोमबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी दुहबीको सरस्वती मावि, इटहरीको कृष्टल स्कुल र बूढीगङ्गा गाउँपालिकाको युनिक बोर्डिङ स्कुल विजयी भई दोस्रो चरणमा पुगेको हो ।
सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित स्मृति स्कुललाई ४–१ गोलले हराउँदै सरस्वती स्कुल विजयी भएको छ । सरस्वती स्कुलको तर्फबाट जितको लागि रञ्जित खत्रीले दुई गोल, मोहम्मद हुसेन मियाँ र भक्तराज राईले समान १–१ गोल गरे ।
स्मृतिको तर्फबाट हेमन्त माझीले सान्त्वना गोल फर्काए । पहिलो खेलको म्यान अफ द म्याच सरस्वती स्कुलका दुई गोल गर्ने रञ्जित खत्री घोषित भए । उनलाई गिफ्ट ह्याम्पर विराटनगरस्थित अर्किड कलेजले ५० हजार मूल्य बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
सोही दिन भएको दोस्रो खेलमा सुनसरीको कृष्टल स्कुलले मोरङको शारदा माविलाई टाइब्रेकरमा ४–३ गोलले निराश बनाउँदै कष्टल स्कुल दोस्रो चरणमा पुगेको छ । निर्धारित समयसम्म दुवै टिमको १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।
सोही दिन भएको तेस्रो खेलमा युनिक एकाडेमीले विराटनगरको वाल्मीकि स्कुललाई ५–२ गोलले हराउँदै युनिक विजयी भएको हो । जितको लागि युनिकको तर्फबाट धीरज उराउले ४ गोल र अङ्कित खत्रीले एक गोल गरे । वाल्मीकिको तर्फबाट निरज मुर्मुले दुई गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच वाल्मीकि स्कुलका सरोज साह घोषित भए ।
प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव हंशराज वाग्लेले गरेका थिए । प्रतियोगिता अन्तर्गत आज (मङ्गलबार) पाँच खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए ।
यही साउन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागिता रहेको संयोजक कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद, प्रमाण–पत्र, मेडल, शिल्ड प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई स्पोर्टिङ साइकल प्रदान गरिनेछ ।
पहिलो संस्करणको एसईई अन्तर विद्यालयस्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि जेभियर्स इङ्लिस बोर्डिङ स्कुल टङ्की सिनुवारीले जितेको थियो ।