लहान । नक्कली नेपाली नोटसहित सिरहामा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार राति सिरहा नगरपालिका-७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका-६ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ छन् । उनीहरूको साथबाट २५ हजार पाँच सय रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेश पालले जनाएका छन् । प्रहरीका अनुसार उनीहरूबाट पाँच सय रुपैयाँ दरका तीन थान र एक हजार रुपैयाँ दरका २४ थान गरी २७ थान नोट बरामद गरिएको हो ।

शुक्रबार राति करिब ९ बजे पक्राउ परेका दुवै जनालाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।