भद्रपुर । महिला जनचेतना केन्द्र मेचीनगरले मानवीय सङ्कट सहयोग कार्यक्रम अन्तर्गत वडा नम्बर ७ मा सहयोग सामग्री वितरण गरेको छ ।
मेचीनगर नगरपालिकाको वडानम्बर ७ का ३० विपन्न परिवारलाई अहिलेको मौसममा आवश्यक पर्ने सामग्रीहरु वितरण गरिएको हो । उनीहरूलाई पानीको फिल्टर, छाता, झुल र टर्चलाइट एक–एक थान वितरण गरिएको थियो ।
विपन्न परिवारको पहिचान गर्न वडानम्बर ७ को कार्यालयले समन्वय गरेको थियो । कार्यालयको सभाहलमा संक्षिप्त कार्यक्रमको आयोजना गरी वडाध्यक्ष प्रल्हादमणि ओली तथा महिला जनचेतना केन्द्रका पदाधिकारीद्वारा सहयोग सामग्री हस्तान्तरण गरिएको थियो । वडाध्यक्ष ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाकी अध्यक्ष सीता गुरुङले गरेकी थिइन् ।
संस्थाले यसअघि मेचीनगर वडानम्बर ४ मा २०, वडानम्बर ६ मा ४० तथा बाह्रदशी गाउँपालिकाका ३० विपन्न परिवारलाई यस प्रकारको सहयोग हस्तान्तरण गरिसकेको छ । अब कचनकवल गाउँपालिकामा ३० परिवारलाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाकी प्रबन्ध निर्देशक राधा प्रधानले जानकारी दिइन् ।
कचनकवलकै सर्पदंश केन्द्रलाई ५० हजार रुपैयाँ बराबरको सक्सन मेसिन र औषधिहरू पनि हस्तान्तरण गरिने प्रधानले बताइन् । टेवा नेपालको सहयोगमा महिला जनचेतना केन्द्र मेचीनगरले मानवीय सङ्कट सहयोग कार्यक्रम सञ्चालन गरेको हो ।