मोरङ । विराटनगर जेसीजले डेङ्गुबारे सचेतना जगाउँदै विराटनगर–१६ स्थित ऋषिदेव बस्तीमा झुल वितरण गरेको छ । विराटनगर–१६ का वडाध्यक्ष उद्धवकुमार भुजेलको प्रमुख आतिथ्यमा झुल वितरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
बस्तीका ६० परिवारलाई झुल वितरण गरिएको थियो भने सचेतना कार्यक्रम जनस्वास्थ्यका क्षेत्रमा कार्यरत जीवनकुमार यादवले डेङ्गुबाट बच्न अपनाउने सावधानी, फैलन सक्ने कारण, फैलिएपछि गर्नुपर्ने उपचार र कसरी यस बाट जोगिने भन्ने बारेमा स्थानीय भाषामा प्रस्तुति दिएको कार्यक्रम संयोजक ममता रिमालले जानकारी दिइन् ।
विराटनगर जेसीजले समाजमा आवश्यक परेका बखतमा सदैव सेवाका कार्य गर्दै आइरहेको र हालको अवस्थामा पूर्वक्षेत्रमा देखिएको डेङ्गुको प्रकोपलाई मध्यनजर गर्दै सचेतनासहितको झुल वितरण कार्यक्रम आयोजना गरिएको विराटनगर जेसीजका महासचिव अमित अग्रवालले जानकारी दिए ।
जेसीजको सेवा सप्ताह अन्तर्गत महिनावारी सचेतना कार्यक्रम, रक्तदान, स्वास्थ्य शिविर र संसारीमाई स्थान सरसफाइ अभियानलगायतका कार्यक्रम सम्पन्न हुने विराटनगर जेसीजले जनाएको छ ।