धनकुटा । जनता समाजवादी पार्टी धनकुटा जिल्ला सचिवालय सदस्य एवम् साँगुरीगढी गाउँपार्टी इन्चार्ज स्व.देव इवाहाङको सम्झनामा सोमबार श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

साँगुरीगढी गाउँपालिका वडा नं.२ बूढीमोरङस्थित स्व.इवाहाङको आफ्नै निवासमा १० औं दिनको पुण्य तिथिको अवसर पारेर जनता समाजवादी पार्टी धनकुटालगायत विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले संयुक्तरूपमा श्रद्धाञ्जली सभा एवम् परिवारजनमा समवेदना पत्र हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो ।    

स्व. इवाहाङले तत्कालीन बूढीमोरङ गाउँपञ्चायतका प्रधानपञ्च, धनकुटा जिल्ला विकास समिति धनकुटाका उपसभापति, रामनवमी मावि बूढीमोरङका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, इङ्नाम, इवाहाङ विकास समितिका केन्द्रीय अध्यक्ष, इवाहाङ वंश विकास समितिका संस्थापक उपाध्यक्ष, सप्तकोशी उच्च बाँध सरोकार समिति धनकुटा जिल्ला अध्यक्ष, लेउती जलधार संरक्षण समितिका वरिष्ठ सदस्यलगायत विभिन्न संस्थामा आबद्ध रहेर धनकुटाको लागि योगदान गरेका थिए । पछिल्लो समयमा पहिचानको लागि दत्तचित्त भएर स्व. इवाहाङ जनता समावादी पार्टी धनकुटाका सचिवालय सदस्य एवम् साँगुरीगढी गाउँपार्टीको इन्चार्ज भएर जिम्मेवारी सम्हालिरहेका थिए ।

उनै इवाहाङको सम्झनामा आयोजना गरिएको कार्यक्रममा जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति धनकुटाको तर्फबाट कार्यवाहक अध्यक्ष पार्वती राई, पूर्व प्रदेश सभा सदस्य आर्सी तुम्बा, राष्ट्रिय भूमि आयोगका धनकुटा जिल्ला समिति अध्यक्ष बलबहादुर राई, जिल्ला सचिव डम्बर कटवाललगायतले संयुक्त रूपमा समवेदना पत्र प्रदान गरेका हुन् । त्यसैगरी जनता समाजवादी साँगुरीगढी गाउँपार्टीको तर्फबाट अध्यक्ष लीलाराज लावती, सचिव सुरेश याम्फूलगायतले समवेदना पत्र स्व.इवाहाङका धर्मपत्नी मुना चोङ्वाङ, छोरा क्षितिज इवाहाङलगायत परिवारजनलाई प्रदान गरे ।

त्यसैगरी इवाहाङ वंश विकास केन्द्रीय कार्य समितिको तर्फबाट महासचिव रमेश इवाहाङ, उपाध्यक्ष निर्मला खवाहाङ लिम्बू, सचिव मणिप्रसाद इङ्नामलगायतले समवेदना पत्र प्रदान गरेका थिए । कार्यक्रममा लेउती जलाधार संरक्षण समितिको तर्फबाट अध्यक्ष बलबहादुर राई, उपाध्यक्ष पुष्पा पोख्रेलले समवेदना पत्र वाचन गरी प्रदान गरेका थिए । भर्तसिं स्मृति कल्याण कोष साँगुरीगढीका उपाध्यक्ष गीता चेम्जोङ र कोषाध्यक्ष सुशील इवाहाङलगायतले कार्यक्रममा समवेदना पत्र प्रदान गरेका थिए ।

त्यसैगरी रामनवमी मावि साँगुरीगढी बूढीमोरङको तर्फबाट प्रधानाध्यापक शिव इङ्नाम लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रम्हध्वोज लिम्बूलगायत सम्पूर्ण विद्यालय परिवारको तर्फबाट समवेदना पत्र प्रदान गरिएको थियो । उक्त विद्यालयका पूर्वशिक्षकसमेत रहेका स्व. इवाहाङले आफ्नो तर्फबाट विद्यालयलाई २० रोपनी जग्गासमेत प्रदान गरेका थिए ।

यता बौद्धिक समाज धनकुटाको तर्फबाट संस्थाका महासचिव घनश्याम बरालले समवेदना पत्र प्रदान गरेका थिए । त्यसैगरी चौबिसे समाज धरान–१३ को तर्फबाट उपाध्यक्ष रेश्मा लिम्बू र सचिव देवेन्द्र थेगिमले समवेदना पत्र प्रदान गरेका थिए । उता राम मावि लेउतीटारको तर्फबाट समवेदना पत्र शिक्षक गुरु चेम्जोङले वाचन गरेका थिए भने शिक्षिका देवी याक्खालगायत अन्य शिक्षकहरूले संयुक्तरूपमा प्रदान गरेका थिए ।

समवेदना हस्तान्तरण तथा श्रद्धाञ्जली सभामा पूर्व प्रदेश सभा सदस्य आर्सी तुम्बा, राष्ट्रिय भूमि आयोग धनकुटाका अध्यक्ष बलबहादुर राई, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राईलगायतले स्वर्गीय देव इवाहाङले गरेको योगदानको चर्चा गरेका थिए । सभामा बोल्ने वक्ताहरूले स्व. इवाहाङको निधनले नेपालमा चलिरहेको पहिचानको आन्दोलनमा अपूरणीय क्षति पुगेको औंल्याएका छन् । उनीहरूले भनेका छन्, ‘भाषिक, सांस्कृतिक, शैक्षिक एवम् राजनीतिक अधिकार प्राप्त गरी आर्थिक समृद्धि र समाजलाई रूपान्तरण गरेर अघि बढाउनको लागि इवाहाङले पु¥याएको योगदानको जति चर्चा गरे पनि पुग्दैन ।’ स्व.इवाहाङका श्रीमती, १ छोरा र २ छोरी रहेका छन् ।