धनकुटा । पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउन सहयोग पुर्याउने उद्देश्यले धनकुटामा ‘टीकाहरि(धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार’ को लागि अक्षय कोष स्थापना गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले सञ्चालन गर्ने धनकुटा नगरपालिका वडा नं..५ माथिल्लो कोप्चेका समाजसेवी दोर्णप्रसाद गुरागाईंले आफ्ना स्वर्गीय मातापिता टीकादेवी गुरागाईं र हरि गुरागाईंको स्मृतिमा शुक्रबार अक्षयकोष स्थापना गरेका हुन् ।

टीकाहरि-धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारको कुल राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । अक्षय कोष सञ्चालन तथा पुरस्कारसम्बन्धी सम्झौता पत्रमा नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई र अक्षय कोष दाता एवम् संरक्षक दोर्णप्रसाद गुरागाईंले शुक्रबार द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै समाजसेवी गुरागाईंले भने, ‘धनकुटाको पत्रकारिताको वृद्धि र विकासको लागि टेवा पुगोस् भन्ने उद्देश्यले स्वर्गीय बुबा–आमाको स्मृतिमा धनकुटामा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको छु ।’ गुरागाईंले यसअघि पनि नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले सञ्चालन गरेको पत्रकार कल्याण कोषको लागि २५ हजार नगद सहयोग गरेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले धनकुटाको पत्रकारिताको विकासको लागि खुल्ला हृदयले सहयोग गरेको भन्दै समाजसेवी गुरागाईंलाई धन्यवाद दिए । उनले सो अवसरमा गुरागाईंलाई खादा लगाएर सम्मान गर्नुको साथै मायाको चिनोसमेत प्रदान गरेका थिए । उनले आगामी दिनमा पनि यसरी नै सहयोग र सद्भाव पाइरहने आशा व्यक्त गरे ।

निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गराउने कार्यमा योगदान पुर्याउने क्रियाशील पत्रकारलाई कदर स्वरूप पुरस्कृत गर्न अक्षय कोष स्थापना गरिएको नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका सचिव हरिबहादुर लम्जेलले बताए । उनले भने, ‘हरेक वर्ष नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको पौष १३ गते पर्ने स्थापना दिवसको अवसरमा क्रियाशील पत्रकारलाई अक्षय कोषबाट वार्षिकरूपमा प्राप्त हुने ब्याजबाट पुरस्कृत गरिनेछ ।’

अक्षय कोष स्थापना गर्न आयोजित सम्झौता कार्यक्रममा नेपाल पत्रकार महासङ्घ १ नम्बर प्रदेश समितिका उपाध्यक्ष हिमा चेम्जोङ, धनकुटा शाखाका पूर्व अध्यक्षहरू राजेश्वरबहादुर श्रेष्ठ, खगेन्द्र घिमिरे, फोनिज प्रदेश अध्यक्ष एवम् पत्रकार महासङ्घ धनकुटा शाखाका सल्लाहकार सन्तवीर लामालगायतको  उपस्थिति रहेको थियो ।