धरान । सुनसरीको वराहक्षेत्र र उदयपुरको रामपुरलाई जोड्ने कोसी नदीको पुलमा कार राखेर बेपत्ता भएका झापा दमक निवासी डाक्टर प्रज्वल कोइराला अझै अज्ञात रहेका छन् ।
तर, प्रहरीको अनुसन्धानबाट प्रेमसम्बन्धका कारण आत्महत्या गरेको हुनसक्ने निष्कर्षमा पुगेको छ । प्रहरीले बेपत्ता बनेका डाक्टर कोइरालाको सातादेखि खोजी कार्यसमेत गरिरहेको छ भने यसबीचमा परिवार तथा आफन्तहरूसँग सोधपुछ गरी घटना हुन सक्ने सम्भावित विषयहरूको अनुसन्धान गरेको थियो ।
त्यसक्रममा दमककै एक अस्पतालमा फार्मेसीमा कार्यरत एक युवतीसँग उनको प्रेमसम्बन्ध रहे पनि असफल भएका कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुसन्धानबाट निष्कर्ष निकालेको छ । उक्त युवती डाक्टर कोइराला बेपत्ता भएको खबर पाउने बित्तिकै बेहोस भएको प्रहरीले अनुसन्धानको क्रममा जानकारी पाएको जनाएको छ । गत आइतबार प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार कोसी पुलनजिकै राखेर बेपत्ता बनेका थिए । उक्त कार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सोधीखोजी गर्दा डाक्टर कोइरालाको रहेको खुलेको थियो ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी गरेको थियो तर, हालसम्म उनी अज्ञात रहेका छन् । उनका आफन्तहरूसँगको सोधीखोजीको क्रममा प्रेमसम्बन्धमा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए । उनका अनुसार एक सातासम्म खोजी गर्दा नभेटिएपछि सिसीटिभी फुटेजहरू हेरिएको र सो फुटेजले आत्महत्यातर्फ इङ्गित गरेको निष्कर्ष प्रहरीको छ ।