धरान । सुनसरी इटहरीको मुख्य राजमार्ग क्षेत्रमा ई–रिक्सा (सिटी सफारी) चलाउन नपाउने भएको छ । आइतबारबाट लागू हुने गरी इटहरी उपमहानगरपालिकाले सिटी सफारी चलाउन रोक लगाएको हो ।
सरोकारवालाहरूसँग शुक्रबार सम्पन्न छलफलबाट आइतबारबाट लागू हुने गरी निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । मुख्य राजमार्ग क्षेत्रमा ट्राफिक जाम धेरै हुने र दुर्घटनाको जोखिम पनि बढेकाले सरोकारवालासँगको छलफलबाट ई–रिक्सा हटाउने निर्णय गरिएको उनले जानकारी दिए । सवारीको चापलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, सफारी सञ्चालकका नेतृत्वहरूबीच सहमति गरिएको हो ।
विशेषगरी मुख्य राजमार्गबाहेकका भित्री सडकमा मात्रै सफारी चलाउन पाइने भएको छ । मुख्य राजमार्गमा सफारीका कारण थप ट्राफिक व्यवस्थापन असहज हुने भएकाले मुख्य सडक क्षेत्रमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशीका डिएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।
मुख्य सडकमा यात्रुहरू कुरेर बस्ने र जथाभावी यात्रु चढाउने तथा ओराल्ने गरेका कारण दुर्घटनाको जोखिम बढेकाले दुर्घटना न्यूनीकरण गर्न निषेध गरिएको उनले जानकारी दिए । यस्तै नगरले सिटी सफारीलाई दर्ता प्रक्रियामा पनि लाने भएको छ । दर्ता प्रक्रिया नहुँदा कारबाहीमा समस्या हुँदै आएको गुनासोका आधारमा दर्ता गरिन लागिएको नगरले जनाएको छ । इटहरीमा करिब पाँच हजारको हाराहारीमा सिटी सफारी रहेको अनुमान गरिएको छ ।