धनकुटा । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार इलामका पत्रकार ज्ञानु केदेमलाई प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) इलाम शाखाले संस्थाको २४ औं स्थापना दिवसको अवसरमा सोमबार जिल्ला सदरमुकाम इलाममा एक कार्यक्रम आयोजना गरी केदेमलाई पुरस्कृत गरिएको हो । केदेमलाई प्रमुख अतिथि इलाम नगरपालिकाका नगरप्रमुख केदार थापा र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले दोसल्ला र सम्मान–पत्रले सम्मान गर्दै पुरस्कार हस्तान्तरण गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) इलाम शाखाले स्थापना गरेको पुरस्कारको राशि नगद १० हजार रहेको छ । गतवर्षदेखि वितरण गर्न सुरु गरिएको पुरस्कारबाट अग्रज पत्रकार सटेन्द्र जबेगू पहिलो पटक पुरस्कृत भएका थिए ।

डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशील रहेका केदेम नेपाल पत्रकार महासङ्घ इलाम शाखाका सह–सचिव एवम् (फोनिज) प्रदेश १ का कार्यसमिति सदस्य हुन् । हाल उनी इलामको माङ्सेबुङबाट प्रकाशित माङ्सेबुङ मासिक म्यागजिनका उप–सम्पादक भएर काम गरिरहेका छन् । पुरस्कारको निमित्त फोनिज इलामले आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी पुरस्कार कोष स्थापना गरेको छ । पुरस्कार कोषबाट हरेक वर्ष एक आदिवासी जनजाति पत्रकारलाई पुरस्कार वितरण गरिने शाखा अध्यक्ष राम योङ्हाङले ब्लाष्टलाई जानकारी दिए ।

कार्यविधिमा फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसङ्ख्यक र लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृतिसम्बन्धी समाचार, फिचर, लेख र आलेख, बहसपैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने इलामेली आदिवासी जनजाति पत्रकारहरूलाई पुरस्कृत गरिने फोनिज इलाम शाखाले जनाएको छ ।