विराटनगर । दक्षिण एसियाकै पुरानो र ठूलो मानिने श्री राधाकृष्ण रथयात्रा विराटनगरमा आज (बिहीबार) दिउँसो ३ बजे निकालिँदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आज निकालिने यो रथयात्रा ५५ औँ संस्करणको हो ।

रथयात्रा सम्पन्न गर्न १८ वटा उपसमितिहरू गठन गरिएको छ । रथयात्राको व्यवस्थापनका लागि भने ५ सय बढी स्वयम्सेवकहरू छनौट गरिएको छ । रथयात्रामा नेपालबाट मात्रै नभई भारतको बिहार, पश्चिम बङ्गाललगायतबाट समेत भक्तालुहरू आउने गरेका छन् ।

कोरोना महामारीका कारण विगतका वर्षमा रथयात्रा प्रभावित हुँदै आएको थियो । तीन वर्षअघि परम्परा धान्ने हिसाबले खटयात्रा मात्र निकालिएको थियो । यस पटक अवस्था सबै प्रकारले सहज भएकाले श्रद्धालुको सहभागिता बढ्ने मन्दिर समितिका सदस्य कृष्ण कार्कीले बताए ।

रथयात्राको व्यवस्थापकीय कार्यहरू पूरा भइसकेको र रथको शृङ्गार कार्य भइरहेको मन्दिर समितिका अध्यक्ष एवम् मूल समारोह समितिका संयोजक कैलाश रेग्मीले बुधबार जानकारी दिए ।

मन्दिर परिसरबाट आज दिउँसो ३ बजेपछि रथयात्रा प्रारम्भ हुनेछ । रथले मन्दिर परिसरबाट मेनरोडसहित धरानरोड हुँदै झण्डै ९ किलोमिटर दूरी तय गरी पुनः मन्दिरमा लगेर विसर्जन गरिने तयारी छ । यात्राका क्रममा रथलाई ४३ स्थानमा रोकिनेछ । श्रद्धालु र भक्तजनका लागि रथ तान्न दुवैतर्फ ७५–७५ फिटको डोरी राखिएको छ । रथयात्राका दिन सधैँजसो यस पटक पनि कोशी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।