विराटनगर । सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको अध्यक्षमा विराटनगर महानगरपालिका चयन भएको छ । विराटनगरमा सम्पन्न भएको वार्षिक साधारणसभा एवम् अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष बनाएको हो ।
अधिवेशनले १३ सदस्यीय समिति निर्वाचित गरेको छ । सिटीनेटको उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपालिका चयन भएका छन् । सदस्यहरूमा पोखरा, भरतपुर, ललितपुर महानगरपालिकासहित जितपुर सिमरा, हेटौँडा उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिका छन् । संस्थागत सदस्यहरूमा भूकम्प प्रविधि समाज नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सदस्य छन् । १६ वटा नगरपालिकाका मेयर तथा उपमेयरहरू सहभागी अधिवेशनले विधान पारित गरेको निवर्तमान अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले जानकारी दिइन् ।
सदस्य पालिकाहरूको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोर मैला व्यवस्थापन, दिगो विकास लक्ष्य २०३० र गुणस्तरीय विकास व्यवस्थापन र कार्यान्वयनमा हुने सहकार्यका लागि यो फोरम उपलब्धिमूलक रहने विश्वास गरिएको उनले बताइन् । स्थानीय विपद् जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको व्यवस्थापनको लागि हेटौँडा उपमहानगरपालिकाले जग्गा प्रदान गर्ने तथा सम्पूर्ण सदस्यहरूको सहकार्यमा कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने निर्णय भएको छ । सिटीनेटको दशौँ अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गरिने भएको छ ।
सिटीनेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टरमा २१ नगरपालिका संस्थागत सदस्यहरू रहेका छन् भने २१ वटा विस्तारित नगरपालिका सदस्यहरू रहेका छन् । जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनजर गरी एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाहरूको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटीनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना भएको हो ।
जापानमा स्थापित यो संस्थाले मलेसिया, श्रीलङ्का, भारत, नेपाल, इन्डोनेसिया, फिलिपिन्सलगायत १९ देशमा सञ्जाल बनाइसकेको छ । सिटीनेटको सञ्जालमा जोडिनको लागि नगरपालिकाको न्यूनतम् जनसङ्ख्या १ लाख बढी भएको हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । संस्थाको २०७९ फागुन १९ र २० गते धनगढीमा पूर्ण बैठक बसेको थियो भने २०८० भदौ २१ गतेको अधिवेशनले विधान पारित गरेको विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाले जानकारी दिए ।