धनकुटा । निजामती सेवा दिवस–२०८० को अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति धनकुटाले बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङको प्रमुख आतिथ्य र भर्खरै सरुवा भै आएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको विशेष आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ४५ जनाले रक्तदान गरेको नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदीले जानकारी दिए ।
‘सङ्घीयता, सुुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन, हाम्रो अधिकार’ भन्ने मूल नाराको साथ आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले नेपालमा वि.सं.२०१३ सालदेखि निजामती सेवा ऐन लागू भएको बताए । उनीहरूले भने, ‘राष्ट्रसेवक कर्मचारीहरूले निजामती कर्मचारीको नाराअनुसारको व्यवहार गरेर जनतामुखी र सेवामुखी भई काम गर्न सक्नुपर्छ ।’ राष्ट्रसेवक कर्मचारीले शासकीय ढङ्गले होइन, सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्धेश्यको साथ आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्नुपर्नेमा उनीहरूको जोड थियो । राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नसके मुलुकमा चाँडै सुशासन र समृद्धि छाउने कार्यक्रममा बोल्ने वक्ताहरूले जोड दिएका थिए ।
कर्मचारी मिलन केन्द्रको विविध कार्यक्रम
यसैबीच निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र धनकुटाले तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर भव्यरूपमा मनाएको छ । केन्द्रका अध्यक्ष ध्रुव कार्की काअनुसार अन्तरकर्मचारी खुल्ला ब्याडमिन्टन प्रतियोगिता, वृक्षरोपण, ज्येष्ठ नागरिकहरूलाई मिष्ठान्न भोजन र धनकुटा बजारमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको बताए । ब्याडमिन्टन प्रतियोगितामा निजामती, जङ्गी र स्थानीय तह गरी तीनै तहका ८० जना कर्मचारीहरूले भाग लिएका थिए ।
ब्याडमिन्टन प्रतियोगितामा सहभागी ४० वटा टिममध्ये घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका ईश्वर थापा र मालपोत कार्यालय धनकुटाका भूवन सुवेदीको जोडी प्रथम भएको थियो । त्यसैगरी साँगुरीगढी गाउँपालिकाका प्रशासन शाखा प्रमुख द्रोर्णबहादुर राई र कोष तथा लेखा नियन्त्रण कार्यालय धनकुटाका राजु कार्कीको टिम दोस्रो भएको थियो । प्रतियोगितामा सुरज खनाल–प्रकाश कार्की र दीपेश भूजेल–विष्णु गौतमको टिम तेस्रो भएको केन्द्रका अध्यक्ष एवम् कोष तथा लेखा नियन्त्रण कार्यालय धनकुटाका प्रमुख ध्रुव कार्कीले ब्लाष्टलाई बताए ।
त्यसैगरी केन्द्रले धनकुटा न.पा.–९ को विश्रान्ती मन्दिरमा रहेका ज्येष्ठ नागरिकहरूलाई मिष्ठान्न भोजन तथा स्वास्थ्य जीवनयापनको शुभकामना प्रदान गर्ने कार्यक्रमसमेत आयोजना गरेको छ । भाद्र २० देखि २२ सम्म आयोजना गरिएको विविध कार्यक्रम अन्तर्गत निजामती आवासीय विद्यालय धनकुटा परिसरमा वृक्षरोपण गरिएको छ । त्यसैगरी बिहीबार धनकुटाको मदनचोकमा भेला भएर धनकुटा बजारमा प्रभातफेरी गर्नुको साथै धनकुटा नगरपालिकाको हलमा पुरस्कार वितरण तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।