विराटनगर । विराटनगरमा हरेक वर्ष झैँ कृष्ण जन्माष्टमीको भोलिपल्ट बिहीबार भव्यरूपमा राधाकृष्ण रथयात्रा निकालिएको छ ।
उत्साहपूर्वक रूपमा रथयात्रा सम्पन्न भएको छ । विभिन्न धार्मिक तथा जातीय झाँकीसहित तीनपैनी चोकबाट बिहीबार दिउँसो निस्किएको रथयात्रा साँझ तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसर पुगेर समापन भएको थियो । विराटनगरमा निकालिने रथयात्रा दक्षिण एसियाकै ठूलो भएको दाबी गरिन्छ ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले विभिन्न जाति, भाषा, धर्म र सम्प्रदायको साझा फूलबारी भएको बताउँदै विराटनगरको रथयात्राको छुट्टै महिमा र महत्व भएको बताए । उनले यस्ता सांस्कृतिक अवसरले हामीलाई भावनात्मक रूपमा एक–अर्कालाई नजिक्याउन मद्दत गरेको बताए । उनले रथयात्राको ऐतिहासिकता र सांस्कृतिक पक्षको महत्व बर्सेनि बढ्दै गएको बताए । उनले भने, ‘यो परम्परा विराटनगरको पहिचानको रूपमा स्थापित भएको छ ।’
५० वर्षअघि खटमा राखेर राधाकृष्णको प्रतिमा नगर परिक्रमा गराएर सुरु गरिएको र पछि ठूलो जनसहभागिताका साथ रथयात्राको परम्परा बसेको उनले बताए । रथयात्रामा सहभागी हुन सीमावर्ती भारतीय क्षेत्रका सहरबाट समेत भक्तजनको घुइँचो लागेको थियो । सुनसरी र मोरङका विभिन्न भागबाट भक्तजन तथा झाँकी समूहको पनि उपस्थिति थियो । जात्राको दिन प्रदेश सरकारको निर्णयानुसार प्रदेश सरकार मातहतका मन्त्रालय, कार्यालय तथा स्थानीय तहले बिदा मनाए । यो दिन प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ । तीनपैनीबाट सुरु भएको रथयात्रा कोशी प्रदेशको राजधानी विराटनगरको मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक रोडशेष चौक हुँदै शनि मन्दिर, वरगाछी चोक पुगेर पुनः तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको थियो ।
रथयात्रा सुरु हुनुअघि विराटनगरमा जम्मा भएका १३ वटा स्थानीय तहका प्रमुखले दर्शन गरेका थिए । रथयात्रामा हजारौं भक्तजन सहभागी छन् । रथयात्रा बजारको ४३ स्थानमा विश्राम गराएको थियो । रथयात्राका लागि ५ सय बढी स्वयम्सेवक परिचालित भएका थिए भने सुरक्षाको लागि ५ हजार प्रहरी परिचालन गरिएको थियो । रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध मिलाइएको थियो भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित गरेको जनाएको छ । यसैबीच रथयात्रामा शङ्कास्पद गतिविधि गर्ने ३२ भारतीयसहित ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा ८ महिला र अन्य पुरुषलाई पक्राउ गरिएको छ ।
रथले परिक्रमा गर्ने सडकमा भगवान् श्रीराधाकृष्णको फोटो अङ्कित झण्डाहरू राखिएका थिए । रथले नौ किलोमिटर दूरी तय गरेको थियो भने रथ तान्न दुवैतर्फ ७५–७५ फिट लम्बाइको डोरी राखिएको थियो । राधाकृष्ण रथयात्रा अवलोकनका लागि आउने भक्तजनलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको थियो । चोरी, लुटपाट, पाकेटमारीलगायतका गतिविधि हुनसक्ने भएका कारण बालबच्चा र वृद्धवृद्धालाई नल्याउन पनि प्रहरीले आग्रह गरेको थियो ।