सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा सहभागी सनातन धर्म पक्षधरले मुलुकमा हिन्दुराज्य अपरिहार्य रहेको बताएका छन् ।

नेपालका लागि नेपाली पार्टीको जिल्ला भेलामा सहभागीहरूले हिन्दु धर्म र आस्थामाथिको बढ्दो प्रहार रोक्नसमेत हिन्दु राज्य आवश्यक रहेको बताए । इनरुवामा आयोजित सो पार्टीको जिल्ला भेलाका अधिकांश वक्ताले खुलेआम हुँदै आएका गौहत्या रोकिनु पर्ने धारणा राखेका छन् ।

संविधानविपरीत कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन वर्तमान राज्य संयन्त्र चुकेको तर्क राखेका कार्यक्रमका वक्ताहरूले दलका नेता स्वार्थगत राजनीतिमा रुमल्लिएकाले अस्तित्व रक्षाका लागि जनता जाग्नुबाहेक अर्को विकल्प नभएको बताए । डम्बरबहादुर घिमिरेको संयोजकत्वमा आयोजित जिल्ला भेलामा पार्टीका सर्वोच्च नेता सुशीलचन्द्र अधिकारीसहित केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज, केन्द्रीय उपाध्यक्ष पिङ्की महासेठ, केन्द्रीय महामन्त्री दीपक महाराज आत्रेयलगायत कोशी र मधेश प्रदेशका पार्टीका अगुवा नेताहरूको उपस्थिति रहेको थियो ।

जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने नेपालका लागि नेपाली पार्टी सुनसरीले जनाएको छ । आफ्नो पार्टीलाई हिन्दुवादी पार्टी बताउने नेपालका लागि नेपाली पार्टीले जनलहर बटुल्न सङ्गठन विस्तारलाई जोड दिँदै आएको जनाएको छ ।