निजामती सेवा जनताको लागि भरपर्दो हुनु पर्नेमा शुक्रबार धनकुटामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिएका छन् ।
निजामती सेवा दिवस–२०८० मूल समारोह समिति धनकुटाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा पुरस्कार वितरण समारोहमा सहभागी वक्ताहरूले यस्तो जोड दिएका हुन् । उनीहरूले ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नारालाई सफल पार्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
कार्यक्रम उच्चअदालत विराटनगर धनकुटा इजलासका माननीय न्यायाधीश अञ्जु उप्रेती ढकालको प्रमुख आतिथ्यता र माननीय न्यायाधीश फूर्पा तामाङको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र धनकुटाले आयोजना गरेको अन्तरकर्मचारी खुल्ला ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा सहभागी टिममध्ये प्रथम हुने घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका ईश्वर थापा र मालपोत कार्यालय धनकुटाका रामकृष्ण सुवेदी भूवनको जोडीलाई नगद ५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी प्रतियोगितामा दोस्रो हुने साँगुरीगढी गाउँपालिकाका प्रशासन शाखा प्रमुख दोर्णबहादुर राई र कोष तथा लेखा नियन्त्रण कार्यालय धनकुटाका राजु कार्कीको टिमलाई नगद ४ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी प्रतियोगितामा तेस्रो हुने सुरज खनाल–प्रकाश कार्की र दीपेश भूजेल–विष्णु गौतमको टिमलाई नगद ३–३ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको केन्द्रका अध्यक्ष एवम् कोष तथा लेखा नियन्त्रण कार्यालय धनकुटाका प्रमुख एवम् कर्मचारी मिलन केन्द्र धनकुटाका अध्यक्ष ध्रुव कार्कीले बताए ।
प्रतियोगितामा विजयी खेलाडीहरूलाई उच्च अदालत विराटनगर धनकुटा इजलासका माननीय न्यायाधीश एवम् कार्यक्रमका प्रमुख अतिथि अञ्जु उप्रेती ढकाल, विशेष अतिथि माननीय न्यायाधीश फूर्पा तामाङ र प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए ।
शुभकामना आदान–प्रदान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गर्नुपूर्व धनकुटा बजारको मदनचोकमा भेला भएर राष्ट्रसेवक कर्मचारीहरूले प्रभातफेरीमार्फत् धनकुटा बजारको परिक्रमा गरेका थिए । बजार परिक्रमापश्चात् धनकुटा न.पा.को हलमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा पुरस्कार वितरण तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।