धरान । विश्व फुटबल महासङ्घ (फिफा) ले लागू गरेको नयाँ नीति कार्यक्रमलाई कार्यान्वयन गराउन धरानमा प्रदेशभरिका एन्फाका जिल्ला सङ्घमा आबद्ध पदाधिकारीहरूलाई ‘फिफा कनेक्ट वर्कसप’ कार्यशाला सम्पन्न गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कोशी प्रदेश समितिको आयोजनामा सम्पन्न एक दिने कार्यशालामा एन्फा जिल्लामा आबद्ध पदाधिकारीहरू सहभागी भएका थिए । वर्कसपले जिल्लामा रहेका खेलाडी, अफिसियल, फुटबल मैदान, जिल्ला लिग खेल्ने टिमहरूको बारेमा फिफासँग सिधा सम्पर्क गराउने एन्फा जिल्ला सचिव प्रताप तामाङले जानकारी दिए । उनका अनुसार त्यहाँ खेलाडीको नाम, जिल्लामा खेल्ने टिम, मैदान सबैको बारेमा ‘फिफा कम्पिटिसन मेनेजमेन्ट सिस्टम (एफसिएमएस)’ मा प्रविष्ट गराएपछि फिफालाई त्यसबारे थाहा हुन्छ । एन्फाले जिल्लामा गरेका सम्पूर्ण गतिविधिहरू त्यसमा जोडिने उनले बताए ।
तथ्याङ्क सङ्कलन गर्नका लागि एक जना एड्मिन रहनेछन् । जसले खेलसम्बन्धी रिपोर्ट, कुन टिमको पोइन्ट कस्तो छ, को म्याच कमिस्नर थियो, कुन मैदानमा खेलाइएको थियो भन्ने प्रविष्ट गरेपछि एन्फाको केन्द्रीय कार्यालय हुँदै फिफामा देखिने उनले जानकारी दिए ।
यसका लागि एन्फा केन्द्रीय समितिबाट फिफा फरवार्ड मेनेजर हेड अफ रेफ्री डिपार्टमेन्टका गोकुल थापाले वर्कसपको सहजीकरण गरे । उनले एन्फाको प्रदेशभरि रहेका जिल्ला समितिका एक जना प्रतिनिधिका दरले सहभागी भएकाहरूलाई प्रविष्ट गर्दा चाहिने आवश्यकीय सामग्रीबारे जानकारी गराएका थिए । यसमा खेलाडी, टिम, अफिसियल, म्याच अफिसियललगायत सबै दर्ता गरेपछि एन्फाको माध्यमबाट फिफामा पुग्ने व्यवस्था गरिएको छ ।
यसले खेलाडीहरूको स्तर लगायत निर्धारण गर्न पनि सजिलो हुने विश्वास लिइएको एन्फाका प्रदेश समिति अध्यक्ष किशोर राईले जानकारी दिए । खेलाडीदेखि अफिसियलसम्मको सम्पूर्ण विवरण भरिने भएकाले यसले धेरै हदसम्म स्तर निर्धारणमा सहज हुने उनले बताए । यहाँका फुटबल प्रतियोगिताहरू पनि सिधै फिफामा जोडिनेछन् । उद्घाटन कार्यक्रममा एन्फाका सहायक महासचिव वसन्त अर्याललगायत सहभागी भएका थिए ।