विराटनगर ।  बेलबारी गोल्डकप फुटबल प्रतियोगितमको छैटौँ संस्करण आज आइतबारदेखि सुरु हुने भएको छ । मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र भोजपुर जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा राष्ट्रिय लिग विजेता चर्च ब्वाइज काठमाडौंसहित ब्रिगेड ब्वाइज काठमाडौं, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल संघ र यूकेएफसी भारत गरी ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको पाँचौँ संस्करणको उपाधि गत वर्ष सशस्त्र प्रहरी बलको एपीएफले उचाल्दा रारा फुटबल क्लब धनकुटाले उपविजेतामा चित्त बुझाएको थियो ।

प्रतियोगिता सञ्चालनमा करिब ६३ लाख खर्च हुने र प्रतियोगिताबाट करिब साढे ६९ लाख आम्दानी हुने अनुमान गरिएको आयोजक समितिका सञ्चार संयोजक नरेन्द्र बस्नेतले बताए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोल्डकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र हरेक खेलका म्यान अफ द म्याचले पनि नगद पुरस्कार पाउने आयोजकले बताएको छ ।