सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताए । आगलागीबाट नगद ३१ हजार रुपैयाँ  पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो) मा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षति भयो भन्ने विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

यस्तै लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए ।

आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, सुनका गरगहना र नगद १५ हजार रुपैयाँसमेत नष्ट भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ ।