विराटनगर । मोरङ सुन्दरहरैंचा – ९ का ४९ वर्षीय सहदेव बजगाइँको हत्या आरोपमा प्रहरीले दुई जना काम गर्ने कर्मचारीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका  ४ हाटखोला घर भई बजगाइँकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

उनीहरुले बुधबार राती १२ देखि १ बजेको बीचमा बिभत्स तरिकाले हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । हत्या गरेपछि उनीहरु फरार भएका थिए ।

फरार रहेका दम्पतीलाई  इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवैजनालाई सुनसरी धरान १२ मा रहेको बलभद्रेश्वर मन्दिर अरुणादय धर्मशालाको गेष्टहाउसबाट बिहीबार साढे ७ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ गरि इप्रका बेलबारीमा ल्याएर अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । हत्याको कारण अहिले खुलेको छैन । ‘अनुसन्धान भइरहेको छ,’ एसपी कार्कीले भने, ‘थप अनुसन्धानपछि कारण पनि खुल्नेछ ।’

सुन्दरहरैचा १ कुमार गाँउ स्थित एक तल्ले टिनको छानो बासको टाटिबेरा भएको कुखुरा फर्म भित्रै फर्मका संचालक बजगाइँको बिहीबार बिहान १० बजे शव फेला परेको थियो ।  

प्रारम्भीक अनुसन्धानबाट उनीहरूलेनै सो घटना गराएको प्रहरीको दाबी छ । बजगाइँको टाउकोमा दाउ र बञ्चरो प्रहार गरेर हत्या गरेका थिए । बजगाईको फर्ममा दम्पत्ती एक महिना अगाडीदेखि काम गर्दै आएका थिए ।

pakrau