हङकङमा रहेका तमु (गुरुङ)हरुकाे संस्था तमु ट्हो ह्युल हङकङकाे अध्यक्ष पदका लागि ईश्वर गुरुङले उमेद्वारी घाेषणा गरेका छन् ।

हाल उपाध्यक्ष रहेका गुरुङले जुलाई २१ मा हुने संस्थाको एघारौं अधिबेशनमा अध्यक्ष पदको प्रत्यासी बन्ने निर्णय गर्दै आज आईतबार एक सभाकाे आयाेजना गरि उमेदवारी घाेषणा गरेका हुन् । संस्थालाई सबल एवम् शसक्त संस्थाको रुपमा स्थापित गर्न आफुले उम्मेदवारी दिन लागेकाे उनले घाेषणासभामा जानकारी गराएका छन् ।

घाेषणासभामा उनले संस्थाकाे हितका लागि पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जसमा हङकङमा रहेका गुरुङ संस्थाहरुको बीचमा संस्थागत एकता तथा कार्यगत एकता गर्नका लागि बिशेष रुपमा पहल गर्ने, नेपाल तथा हङकङमा रहेका विपन्न तर उत्कृष्ट तमु बिद्यार्थीहरुको लागि प्रोत्साहन स्वरुप बिशेष सहयोग छात्रवृत्ति प्रदान गर्न तथा हङकङका कुनै पनि गुरुङलाई आपातकालीन परिस्थितिमा आर्थिक सहयोग गर्नका लागि तमु ट्हो ह्युल राहत कोषको स्थापना गर्ने उल्लेख छ ।

त्यस्तै जनचेतना अभिवृद्धि, रोजगार, शिपमुलक तथा शिक्षामुलक प्रशिक्षणहरु संचालन गर्न गराउनका लागि हङकङ सरकारको सम्बन्धित निकायहरु संग आवश्यक परामर्श तथा समन्वय गर्ने पहल गर्ने, गुरुङ भाषा, संस्कार, संस्कृति, भेषभुषा आदिको संरक्षण र सम्बर्द्धनको साथै बिदेशमा रहेर आफ्नाे भाषा, संस्कार, संस्कृति, भेषभुषाबाट टाढिदै गएका नयाँ पुस्तालाई यस बारे ज्ञान दिन र यसको महत्व बुझाउन समय सापेक्षित रुपमा विभिन्न अन्तरक्रिया, विचार गोष्ठी, भेला तथा प्रशिक्षण कार्यक्रहरुको आबश्यक आयोजना गर्ने र तमु ट्हो ह्युल हङकङलाई सांगठानिक रुपमा शसक्त, आर्थिक रुपमा सबल र सक्षम तथा विधिगत रुपमा स्पष्टता आदिको रुपमा स्थापित गर्नका लागि विधानलाई आत्मसात गर्दै पूर्ण रुपमा बफादार भै विधानको परिधि भित्र रही निरन्तर रुपमा प्रतिबध्ताका साथ लागि रहने उल्लेख छ ।