काठमाडौँ । लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा सोमबार काठमाडौँको कीर्तिपुरमा सम्पन्न भएको छ ।

नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) को दुई साताअघि यात्रा सुरु गरेको थियो । 

यही असार १९ गतेदेखि कपिलवस्तुको वाणगङ्गाबाट सुरु भएको यात्रा बुटवल, दाङको लमही, कोहलपुर, नेपालगञ्ज, काठमाडौँको भृकुटीमण्डप तथा ललितपुरको जावलाखेलमा सम्पन्न भएपछि आज कीर्तिपुरको पांगामा आयोजना गरिएको हो । 

कीर्तिपुरको कार्यक्रममा राजनराज शिवाकोटी, रिमा विश्वकर्मा, माला वाइवा लगायतका कलाकारको प्रस्तुतिका साथै विभिन्न खेल जस्तै ‘स्पिन द ह्विल’, हाजिरीजवाफ लगायत  मनोरञ्जनका कार्यक्रम आयोजना गरिएका थिए । खेलमा सहभागिता जनाउने अधिकांश युवाहरू तथा सांगीतिक कार्यक्रममा सबै उमेर समूहका दर्शकहरू सहभागी थिए ।

युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन यात्रा सुरु गरिएको हो । युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रमा राष्ट्रिय र स्थानीयस्तरका विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । यस्तो यात्रा भने पहिलो पटक गरेको हो । 

संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झण्डै आठ दशकदेखि रहँदै आएको छ । युएसएडले विगत ६३ वर्षभन्दा लामो  समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥यायो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका थिए । 

सन्  २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा एक खर्ब ९६ अर्ब नेपाली रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेको छ । 

(रासस)