धरान । धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानी महसुल वृद्धि गरेको सूचनामा ‘धराने जनतालाई गुमराह’मा राखेको खुलासा भएको छ । 

एउटै चलानी नम्बर तथा उही मिति हालेर सूचनालाई दुई पटक प्रकाशित गरी धराने जनतालाई झुक्याएको पाइएको हो । साउन २ गते मिति हालेर जारी गरिएको महसुल वृद्धिको एउटा सूचनामा ‘मृतक’को विषयमा कुनै कुरा उल्लेख गरिएको छैन भने अर्को सूचनामा ‘मृतक’ विषयमा उल्लेख छ । ती दुवै सूचनाको चलानी नम्बर १०८ रहेको छ । तथ्य चाहिँ के हो भने यी दुई सूचना फरक फरक मितिमा प्रकाशित गरिएका हुन् । यसमा बोर्डका कार्यकारी निर्देशकले बठ्याइँ गरेको देखिन्छ । दुवै सूचनामा बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले हस्ताक्षर गरेका छन् । 

452226880_920791086523380_8012226177049637679_n

पछिल्लो पत्रमा स्पष्टसँग हस्ताक्षर तथा नाम देखिन्छ । यसबारे नेपाली काङ्ग्रेसका धरान नगर सभापति श्याम पोखरेलले भने, “साउन २ गते जारी गरिएको सूचनामा मृतकको विषय कहीँकतै देखिँदैन । तर त्यहीँ चलानी नम्बर हालेर जारी गरेको अर्को सूचनामा भने मृतकको विषय उल्लेख गरेको देखिन्छ । यो त सरासर जनतालाई झुक्याउने काम भएन र !”

दुवै सूचनालाई राम्ररी नियाल्ने हो भने चलानी नम्बर १०८ नै उल्लेख छ र मिति पनि साउन २ गते नै उल्लेख छ । जहाँ मृतकको हकमा नामसारी गर्दा ५० प्रतिशत छुट दिने भनी दोस्रो सूचनामा देखिन्छ । पहिले जारी सूचनामा उक्त कुरा उल्लेख भएको पाइँदैन । 

धरानका १० राजनीतिक दलहरूले शुक्रबार (साउन ११ गते) तीन सूत्रीय माग राख्दै ७२ घण्टे अल्टिमेटमसहितको ज्ञापन–पत्र बुझाएपश्चात् बोर्डले हतार हतार उक्त विषय सच्याएको राजनीतिक दलको भनाइ छ । “एउटै चलानी नम्बरमा कसरी फरक फरक सूचना जारी गर्न मिल्छ ?” सभापति पोखरेलले प्रश्न गर्दै भने, “यो त नीतिगत भ्रष्टाचार हो ।”

451814179_1035851184550407_4994612507106824772_n

खानेपानी बोर्डले अवैज्ञानिक तरिकाले महसुल शुल्क वृद्धि गरेपछि धरानका राजनीतिक दलहरू यतिबेला सङ्घर्षरत छन् । ७२ घण्टे अल्टिमेटममा पनि सुनुवाइ नगरे चरणबद्ध आन्दोलनको कार्यक्रम तय गरिने ज्ञापन–पत्र बुझाउनुअगि गरिएको पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुब लिम्बूले बताए । चरणबद्ध आन्दोलन कस्तो हुने भन्ने खाका भने सार्वजनिक गरेको छैन । 

हाल बोर्डका स्वघोषित अध्यक्ष एवम् धरान उपमहागनरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले एकल निर्णयमा महसुल वृद्धि गरेका छन् । महसुल वृद्धि गर्दा ११ देखि ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरिएको राजनीतिक दलहरूको दाबी छ । यो दाबीअनुसार ब्लाष्टले केही युनिटलाई आधार मानेर फ्याक्ट चेक गरेको थियो । तर ब्लाष्टलाई प्राप्त पछिल्लो तथ्याङ्कमा दलले दाबी गरेको प्रतिशत सतप्रतिशत मेल खाएको छ । यसअघि आधार मानेर गरिएको फ्याक्ट चेक र अब आउने नयाँ फ्याक्ट चेकलाई ब्लाष्टले जवाफदेही पत्रकारिताको अङ्ग मानेको छ ।