झापा/अर्जुनधारा नगरपालिका वडा नम्बर ४ स्थित दहिझोडाका ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेको कुखुराको खोरमा एक थान कटुवा पेस्तोल फेला पारेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीले घरधनी आङ्देम्बेलाई मङ्गलवार नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्दले बताएका छन्।


“हतियार लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले आङ्देम्बेको घरमा खानतलासी गरेको थियो”, सूचना अधिकारी चन्दले भन्नुभयो, “घर छेउको कुखुराको खोरको खरको छानोभित्र पहेलो प्लाष्टिकमा पोको पारेर लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल भेटियो ।”


यसअघि अर्जुनधारा वडा नं ४ देवानचोक निवासी २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाइ राखिएको अवस्थामा गत साउन २६ गते राति १०ः३० बजे एक थान भरुवा बन्दुक बरामद भएको थियो।

अर्जुनधारा–७ मिलडाँडास्थित इन्दिरा अधिकारीको किराना पसलमा चोरी भएको घटनाका अभियुक्तको खोजतलास गर्दै जाँदा प्रहरीले भरुवा बन्दुक फेला पारेका हो।

भरुवा बन्दुकसहित प्रहरीले उक्त घटनामा अर्जुनधारा वडा नम्बर ४ का २२ वर्षीय छिरिङ तामाङ, अर्जुनधारा–३ का २१ वर्षीय निखिल तामाङ र अर्जुनधारा–४ कै १९ वर्षीय आदित्य लिम्बुलाई चोरीका गरगहनासहित पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।