धरान (ब्लाष्ट) :  जंगली हात्तीले बराहक्षेत्र नगरपालिका-५ रामझोडाका किसानको करिब २ विगाहा धानखेतीमा क्षति पुर्‍याएका छन्।

बुधबार राती करिब २०-२५ वटा हात्तीका बथान धानखेतमा पसेर क्षति पुर्‍याएका हुन् ।

स्थानीयका अनुसार हात्तीले रामझोडाका लालबहादुर माझीको ८० केजी धानको भुस नष्ट गरेका छन् भने दानबहादुर थापाको दुई कट्ठामा लगाएको धानखेती, विशाल चोकमा युवराज कोइराला,  मदन कार्की र सिताराम विष्ट लगायत उनीहरुका छिमेकीहरुको धानखेतीमा क्षति पुर्‍याएका छन् । त्यस्तै वालुवाटारका विभिन्न घरमा हात्ती पसेर खाद्यान्न र घरमा क्षति पुर्‍याएका छन् ।

धानखेतीमा क्षति पुगेका किसानहरुले कोशी टप्पु वन्यजन्तु आरक्षमा क्षतिपूर्तिको माग गरेपनि आरक्षले धानबाली क्षति भएको अवस्थामा वर्षमा एक पटक मात्र १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको जानकारी गराएको थियो । 

Messenger_creation_6231FBC2-AC35-4E81-9452-1E7228BA657C

हात्तीले क्षति पुर्‍याएको धानखेतमा बराहक्षेत्र-५ का वडासदस्य टेक बहादुर गौतम र  भक्तबहादुर कार्की स्थानीय किसानसहित बालीका क्षति अनुगमन गरेका छन् । वडासदस्य गौतमका अनुसार करिब २ विगाहा धानखेतीमा क्षति पुगेको पाईएको छ ।

बराहक्षेत्र नगरपालिकाले हात्ती लखेट्न दीर्घकालिन समाधानको खोजी गर्नु भन्दा पनि तत्कालका लागि दमकलको साईरन बजाउने गरेको छ । हात्तीको त्रासले बराहक्षेत्र -५ का खोरिया, सिमरबन, रामझोडा, बिशालचोक, अमाह सिमसार क्षेत्रका वासिन्दा रातभर जागराम बस्नुपरेको वडासदस्य गौतमले बताए । हात्तीले बर्षेनी धनजनको क्षति गरिरहेको छ । २१ महिना अगाडि हात्तीको आक्रमणबाट धनबहादुर माझीले ज्यान गुमाएका थिए । उनको परिवारले अहिलेसम्म राज्यबाट क्षतिपूर्ति पाउन नसकेको वडासदस्य गौतमले बताए । त्यस्तै ९ महिनाअघि भीमबहादुर विष्टले ज्यान गुमाएका थिए । 

वडासदस्य गौतम भन्छन्, ‘धनजनको क्षति नहोस् भनेर बेलैमा सतर्कता अपनाउनु जरुरी छ । भईसकेकाहरुलाई राज्यले समयमै क्षतिपूर्ति दिनुपर्छ । हामीले बारम्बार नगरसभामा पनि यो कुरा उठाउँदै आएका छौं तर कार्यान्वयन हुन नसक्नु दुखद् हो ।’