धरान/सुनसरीको कोशी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख अधिकृत वेदराज अधिकारीले रकम अपचलन गरेको भन्दै गाउँपालिकादेखि अख्तियारसम्म उजुरी परेको छ । 

गाउँपालिकाका कार्यपालिका सदस्य राजकुमार साहले भदौ ७ गते गाउँपालिका र भदौ १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौँ र इटहरीस्थित कार्यालयमा, जिल्ला प्रशासन कार्यालय सुनसरी र शिक्षा समन्वय समिति सुनसरीमा पनि उनीविरुद्ध उजुरी दिएका हुन् । २०७८ सालमा कोशी गाउँपालिकामा शिक्षा शाखामा अधिकृतका रूपमा उनी कार्यरत थिए । त्यतिबेला उनले आधारभूत तह कक्षा ८ को पालिकास्तरीय परीक्षामा रकम अपचलन गरेको आरोप लागेको हो । उनले आफै पेस्की लिई काम गर्न सक्ने प्रावधान भए पनि श्री राष्ट्रिय मावि श्रीपुर जब्दीको खातामा रकम पठाई पुनः आफ्नो खातामा पठाउन लगाएका छन् । ब्लाष्टकर्मीले कोशी गाउँपालिकाका विभिन्न स्कुलका प्रधानाध्यापक तथा गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीसँग यसबारे बुझ्दा ‘प्रक्रियामा त्रुटि देखिएकाले’ शङ्का गर्ने ठाउँ भएको बताए । 

गाउँपालिका प्रमुख अन्सारीले टेलिफोनसम्पर्कमा भने, ‘परीक्षा भएकै हो, रिजल्ट निकालिएकै हो । शाखा प्रमुखका हिसाबले परीक्षा सञ्चालनका लागि आएको पैसा सिधैँ पेस्की लिएर परीक्षा गर्न मिल्थ्यो । त्यो पैसा चाहिँ राष्ट्रिय माविको खातामा हालेर फेरि आफ्नो खातामा लिनुभयो । गलत बाटो रोजेपछि शङ्का गर्ने ठाउँ भइहाल्छ । स्कुलबाट खर्च गर्नुपथ्र्यो । फछ्र्यौट किन गरेन भन्ने प्रश्न हो ।’ उनका अनुसार छानबिन गर्ने निकाय अख्तियारमा पुगेकाले आफूहरूलाई अख्तियारप्रति विश्वास रहेको बताए । 

यता आरोपित अधिकारीले ब्लाष्टलाई ह्वाट्सपमार्फत पठाएको कागजातमा गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गरी २०७९ असार ६ गते निवेदन दिएको देखिन्छ । उक्त निवेदनमा कक्षा ८ परीक्षा सञ्चालन थप रकम सम्बन्धमा भनी विषय खुलाइएको छ । निवेदनमा लेखिएको छ, ‘शैक्षिक सत्र २०७८ सालको आधारभूत तह परीक्षा सञ्चालनको लागि तपसिलको रकम आवश्यक रहेको हुँदा उपलब्ध गराइदिनु हुन निवेदन पेश गर्दछु ।’ उनले विभिन्न शीर्षकमा गरी कुल ६ लाख ५४ हजार रुपैयाँ खर्च माग गरेको देखिन्छ र उक्त रकम कोशी गाउँपालिका ६ श्रीपुरस्थित श्री राष्ट्रिय माविमा निकासा गरी त्यहीबाट पारिश्रमिक र बिल बमोजिमको रकम भुक्तानी गर्ने भनी उल्लेख गरेका छन् । उनले विभिन्न ९ वटा शीर्षकमा खर्चलाई वर्गीकरण गरेका छन् । तर, उनले शाखाको लेटर प्याड प्रयोग नगरी सामान्य कागज प्रयोग गरी निवेदन दिएका छन् । 

उक्त रकम कार्यपालिकाको २०७९ असार २१ गते ऐयुव अन्सारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले भुक्तानी गर्ने निर्णय गरेको छ । उक्त कुरा निर्णय नम्बर २ मा उल्लेख छ । निर्णय नम्बर २ मा लेखिएको छ, ‘शैक्षिक सत्र २०७८ सालको आधारभूत तह परीक्षा सञ्चालन भई सकेको हुँदा उक्त परीक्षा सञ्चालनमा भएको खर्च ६ लाख ५४ हजार भुक्तानी दिने निर्णय गरियो ।’ उनले कोभिडका कारण छोटो समयमै परीक्षा गर्नुपरेकाले र गाउँसभाले बजेट नछुट्याएका कारणले पनि केही समस्या भएको र अन्तिममा आई भुक्तानी भएको बताए ।

उनले फोनसम्पर्कमा भने, ‘सबै प्रक्रिया पु¥याएरै भएको छ । गाउँपालिकाले पनि निर्णय गरेकै हो । भुक्तानी ढिलो हुँदा स्कुलका सरहरूले डकुमेन्ट पठाउनुभएन । पेमेन्ट गर्न अप्ठ्यारो भयो । उपलब्ध भएका सरहरूसँग बसेर राष्ट्रिय माविमा निकास गर्ने अनि लिने भन्ने कुरा भयो । अहिले कुन तरिकाले यो कुरा आयो मलाई थाहा भएन ।’

IMG-20240905-WA0001

यता निवेदन हाल्ने कार्यपालिका सदस्य साहले परीक्षा सञ्चालन गरेबापत प्रत्येक स्कुललाई पैसा दिनुपर्ने भए पनि नदिएको पाइएपछि अख्तियार, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र गाउँपालिकामा पनि निवेदन दिएको बताए । उनले राष्ट्रिय माविको प्रधानाध्यापक जयप्रकाश यादवसँग मिलेमतो गरी आफ्नो खातामा हालेको आरोप लगाए ।

यता राष्ट्रिय माविका प्रअ यादवलाई ब्लाष्टकर्मीले उनको फोनमा पटक पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् । कार्यपालिका सदस्य साहले धेरै स्कुलले पैसा आएन भनेपछि आफूलाई थाहा भएको बताए । कोशी गाउँपालिकाकै राष्ट्रिय मावि सोभनपुरका प्रधानाध्यापक हरिकृष्ण राउतले कपी परीक्षण गरेको, निरीक्षक र केन्द्राध्यक्षलाई चाहिँ पैसा नदिएको बताए । उनले भने, ‘पैसा अपुग भयो । पालिकामा माग गरेको छु भनेर भन्नुभयो; सम्पूर्ण कुरा त हामीलाई थाहा छैन ।’ तर परीक्षाका लागि चाहिने अन्य सामग्रीहरू चाहिँ उपलब्ध गराएको उनले बताए । ‘उत्तर पुस्तिका, प्रश्नपत्रहरू, थप उत्तरपुस्तिकाहरू, मार्कसिटहरू, आवेदन फारमहरू दिनुभयो । खालि हाम्रोमा आउने केन्द्राध्यक्ष, निरीक्षक र कपी चेक गर्नेलाई दिनुभएन’ उनले फोनसम्पर्कमा भने । 

सामान्यतः २५ जना विद्यार्थी भएको स्कुलमा एक जना निरीक्षक र केन्द्राध्यक्ष दिने प्रचलन छ । आधारभूत तहको हकमा कोशी गाउँपालिकाभित्र निरीक्षकलाई एक दिन बराबर पाँच सय रुपैयाँ र केन्द्राध्यक्षलाई एक दिन बराबर एक हजार रुपैयाँ दिने गरेको छ । जसमा १५ प्रतिशत करकट्टा हुने व्यवस्था छ । प्रअ राउतले पनि खर्च गर्ने प्रक्रिया चाहिँ नमिलेको देखिएको बताए । ‘उहाँ (शिक्षा अधिकृत) ले आफैले पेश्की लिएर खर्च गर्नुपर्ने पैसा विद्यालयलाई दिएर खर्च गर्ने आधार देखिएन’ उनले भने ।

यता कोशी जनता माविका प्रधानाध्यापक नागेश्वर साहलाई पनि ब्लाष्टले यसबारे सोधेको थियो । उनले व्यवस्थित तरिकाले खर्च भएरै पैसा लगेको हुन सक्ने बताए । उनले टेलिफोनसम्पर्कमा भने, ‘खर्च चाहिँ भएकै हो । वेदराज सरले आफ्नै नाममा पेश्की लिएको भए राम्रो हुन्थ्यो । परीक्षा समिति बनाइदिनुभयो । प्रक्रिया अलिक गलत भएकै हो । तर, त्यो निर्णय भएकै होला ।’

हाल उनलाई सम्बन्धित मन्त्रालयमै पठाइदिएको छ । कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले सङ्घीय मामिला मन्त्रालयमा पठाउने गाउँपालिकाको निर्णय भएपछि त्योअनुसार अधिकृत अधिकारीलाई पत्र दिइसकेको बताए । उनले आफू भर्खरै सरुवा भएर आएको खुलाउँदै भने, ‘मलेप (महालेखा परीक्षक) भइसकेको हो भने मैले हेर्न मिल्दैन । २०७८ को कुरा हामीलाई थाहै हुँदैन, बोराबन्दी हुन्छ । तालुक निकायले नमागीकन त्यो हामी खोल्दैनौँ । औपचारिक रूपमा अख्यितारले सोधेको छैन ।’ उनले कार्यपालिका सदस्य राजकुमार साहले अनियमितता भयो भनेर भदौ ७ गते निवेदन दिएको बताए । 

कोशी गाउँपालिकामा आधारभूत तहभन्दा माथि दुई मदरसा गरी ८ वटा सामुदायिक विद्यालयहरू छन् । जसमा राष्ट्रिय मावि लौकही, कोशी मावि पश्चिमकुसाहा र राष्ट्रिय मावि श्रीपुर, राष्ट्रिय मावि सोभनपुर, कोशी जनता मावि, सप्तकोशी मावि भण्टाबारी, मदरसामा बारुलहोजा अल सफिला र अलफलाह पब्लिक स्कुल छन् । 

कुन शीर्षकमा कति पैसा ? 

शिक्षा शाखा प्रमुख वेदराज अधिकारीले २०७९ असार ६ गते दिएको निवेदनमा विभिन्न नौ शीर्षकमा ६ लाख ५४ हजार रुपैयाँ माग गरेका छन् । जसमा सुपरिटेन्डेन खर्च १४ जनाको १० दिनको एक लाख ४० हजार, गाउँ खर्च १० दिन प्रतिदिन ४० जना पाँच सय रुपैयाँका दरले २ लाख रुपैयाँ छ । त्यस्तै कपी परीक्षण खर्चमा ८० हजार रुपैयाँ, कपी सम्परीक्षणमा ४० हजार रुपैयाँ, अनुगमन १० दिन १२ जनाको एक लाख २० हजार रुपैयाँ, प्रश्नपत्र ढुवानी विद्यालयलाई २८ हजार रुपैयाँ, स्टेसनरी खर्च ४२ हजार रुपैयाँ, मसलन्द ७० हजार रुपैयाँ र प्रश्नपत्र निर्माण ६० हजार रुपैयाँ गरी कुल ६ लाख ५४ हजार रुपैयाँ रहेको छ ।