झापा । झापा बिर्तामोड नगरपालिका ७ स्थित दुर्गा माध्यमिक विद्यालयले अभिभावक भेला र सामाजिक परीक्षण सुनुवाइ एकसाथ सम्पन्न गरेको छ । 

कार्यक्रममा सहभागी वक्ताहरुले बालबालिकाबाटै शिक्षाको स्तरलाई वृद्धि गर्न सके माथिल्लो कक्षाहरुमा सोचेअनुसारको प्रगति गर्न सकिने बताए । कार्यक्रममा उपस्थिति अतिथि महेन्द्रकुमार प्रसाईंले आधारभूत तहको कक्षा १ देखि ५ सम्मका बालबालिकाको पढाइको स्तरमा वृद्धि गर्नुपर्ने बताए । शैक्षिक गुणस्तरको चाहना राखेर मात्रै नहुने त्यसका लागि सोहीअनुसारको कार्यप्रगति पनि गर्नुपर्ने उनले बताए । यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य रामप्रसाद अधिकारीले न्यून सिकाइ भएका विद्यार्थीहरुलाई थप सिकाइ सहायता गरी सुधार गर्नुपर्ने बताए । 

शिक्षाको गुणस्तर सुधार नगरेसम्म देशको शैक्षिक, आर्थिक समृद्धिको कल्पना गर्न नहुने वक्ताहरुको भनाइ थियो । सामुदायिक विद्यालयको शिक्षा स्तर सुधार गर्न अभिभावक, शिक्षक, विद्यार्थीहरुबीच सुमधुर सम्बन्ध विकास गर्नुपर्ने बताए । अभिभावकहरुले स्कुलसँगको दूरी नजिक्याउने हो भने विद्यालयको स्तर वृद्धि हुन समय नलाग्ने अङ्ग्रेजी विषयका शिक्षक कुमार दंगालले बताए । 

कार्यक्रमका क्रममा गणित शिक्षक हरिप्रसाद दंगाल र नेपाली शिक्षक धनकुमारी खरेलले अभिभावकहरुले बालबालिकालाई विद्यालयले मात्रै सुधार गर्छ भन्ने अपेक्षा राख्ने कारण विद्यार्थीको सिकाइ प्रभावकारी हुन नसकेको बताए । घरबाटै नानीबाबुहरुलाई राम्रो संस्कार सिकाउन उनीहरुले आग्रह गरे । 

७ नम्बर वडा कार्यालयका अध्यक्ष अविरलकृष्ण खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सल्लाहकार समिति संयोजक महेन्द्रकुमार प्रसाईं, पूर्व व्यवस्थापन समितिका सदस्य प्रेम तिमल्सिना, कर्ण मगर र सहदेव थपलियालगायतको उपस्थिति थियो । 

सामाजिक परीक्षणमा संयोजक गोविन्द सुवेदी र शिक्षक भीम आचार्यले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहभागी अभिभावकहरुले अनुमोदन गरेका थिए । 

झापाबाट राजेश विद्रोहीको सहयोगमा