धरान । पूर्व क्षितिज प्रकाशन प्रालिद्वारा सञ्चालन हुँदै आएको ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधानसम्पादकसहित सञ्चालक परिवारमा मातृशोक परेको छ ।
प्रधानसम्पादक राजकुमार कार्कीका माता मनमाया कार्कीको आज (बिहीबार) बिहान साढे ८ बजेतिर घरमै ८१ वर्षको उमेरमा निधन भएको हो । वि.सं. २००० सालमा जन्मिएकी मनमायाका चार छोरा, पाँच छोरी रहेका छन् । बेला बेला दमको रोगबाट ग्रसित हुने उनलाई केही दिनअघि मात्रै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो भने ठीक भएपछि घरमा ल्याइएको थियो ।
मनमायाका जेठा छोरा राजकुमार ब्लाष्टका प्रधान सम्पादक हुन् भने माइला छोरा किशोरकुमार कार्की प्रालिका प्रबन्ध निर्देशक एवम् सम्पादक हुन् । यस्तै साइँला छोरा प्रवीनकुमार कार्की छापातर्फका सञ्चालक प्रमुख हुन् भने कान्छा छोरा दिपेन्द्रकुमार कार्की ब्लाष्टका प्रमुख सञ्चालन अधिकृत हुन् ।
प्रमुख सञ्चालन अधिकृत दिपेन्द्रकुमार कार्कीका अनुसार आमाको सामान्य अवस्थामै बिहान साढे ८ बजेतिर निधन भएको हो । उनका अनुसार आमाको पार्थिव शरीरलाई सुनसरीको इटहरीस्थित गंगाजमुना आर्यघाटमा अन्तिम अन्त्येष्टि गरिने छ । “बुबालाई पनि सोही ठाउँमा गरिएकाले आमालाई पनि त्यहीँ गर्ने परिवारमा सल्लाह भएको छ” उनले भने, “आजै साढे २ बजेतिर अन्येष्टिका लागि तयारी गरिएको छ ।”