धरान/सुनसरीको धरान उपमहानगरपालिका ६ पानबारीस्थित सरस्वती माविमा विद्यालय व्यवस्थापन समिति (विव्यास)को अध्यक्ष चयनमा जटिलता उत्पन्न भएपछि अन्ततः उक्त विषय अदालतमा पुगेको छ ।

२०८१ जेठ १७ गते अभिभावकको तर्फबाट दुई महिलासहित चार जना पदाधिकारी निर्वाचित भए पनि अध्यक्ष मनोनित गर्ने बैठक बस्न नसकेपछि धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिको गत कात्तिक २१ गतेको बैठकले निर्वाचित पदाधिकारीको जिम्मेवारी विघटन गरेको थियो । शिक्षा समितिले शिक्षा ऐन २०२८ को आठौँ संसोधनलाई टेकेर खारेज गरिदिएको थियो । ऐनको दफा १२ (क) को १ मा विव्यास विघटन गर्ने अधिकार शिक्षा समितिलाई रहेको छ ।

शिक्षा ऐनको दफा १२ (१) मा विद्यालय व्यवस्थापन समिति चयन गर्ने व्यवस्था छ । जसमा ९ सदस्यीय समिति बनाउनुपर्ने प्रावधान छ ।

उक्त विघटन गरेको विषय अभिभावकको तर्फबाट बनेका सदस्यहरूले प्राप्त गरेपछि उनीहरूले उच्च अदालत विराटनगरमा मङ्सिर ५ गते मुद्दा हालेका थिए । उक्त विषयमा उच्च अदालतले म्याद तामेल गरिसकेको अवस्था छ । अदालतले शिक्षा समिति र विद्यालय प्रशासनलाई छलफलका लागि आज (सोमबार) बोलाएको धरान उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले बताए । 

शिक्षा महाशाखाका प्रमुख खतिवडाले भने, ‘लामो समयसम्म अध्यक्ष मनोनित गर्ने बैठक बस्न नसकेपछि शिक्षा ऐनलाई टेकेर नगर शिक्षा समितिको बैठकले विघटन गरिदिएका हौँ । त्यो विषयमा अदालतमा मुद्दा पनि हाल्नुभएछ । भोलि (मङ्सिर १० गते) बोलाएको छ ।’ शिक्षा ऐनको दफा १२ (१) मा विद्यालय व्यवस्थापन समिति चयन गर्ने व्यवस्था छ । जसमा ९ सदस्यीय समिति बनाउनुपर्ने प्रावधान छ ।

विव्यासमा अभिभावकको तर्फबाट दुई महिलासहित चारजना, सम्बन्धित वडाका वडाध्यक्ष वा अन्य सदस्यमध्येबाट एक, विद्यालयका शिक्षकहरूमध्येबाट छानी पठाएको एक, विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको समाजसेवी तथा अन्यबाट एक महिलासहित दुई, विद्यालयका प्रअ सदस्य सचिव रहने व्यवस्था छ । ऐनको दफा १२ को उपदफा ३ (ग) मा अध्यक्ष छनोट नभएसम्म सोहीमध्येबाट ज्येष्ठ नागरिकको अध्यक्षतामा बैठक बस्न सक्ने व्यवस्था रहेको छ । 

‘अहिलेसम्म पहिलो बैठक नै बस्न सकेन, जसले गर्दा नगर शिक्षा समितिले खारेज गरिदियो’ विद्यालयका प्रधानाध्यापक गङ्गाप्रसाद धमलाले फोनसम्पर्कमा भने, ‘खारेज गरेपछि अदालत गएका रहेछन् । उच्च अदालतले म्याद तामेल पनि गरिसकेको छ । नगर र स्कुललाई बोलाएको छ ।’ सरस्वती माविमा विव्यास बन्न नसक्नुमा राजनीतिक कारण रहेको स्थानीय बताउँछन् । कतिपयले नेपाली काङ्ग्रेस र एमालेले आआफ्नो मान्छेलाई अध्यक्षमा ल्याउन खोज्दा समस्या आएको ठान्छन् । नाम नछाप्ने शर्तमा एक स्थानीयले ब्लाष्टकर्मीलाई भने, ‘अध्यक्ष नबन्नुमा राजनीति कारण छ । निर्वाचित चार जना सदस्यले काङ्ग्रेसबाट अध्यक्ष ल्याउन चाहन्छ । अरूले मान्दैनन् ।’ 

स्कुलका प्रअ धमलाले स्थानीयको भनाइसँग मिल्ने किसिमको जवाफ दिएका छन् । उनले भने, ‘निर्वाचित भएर आउनुभयो । बैठकमा बोलायौँ । बैठकमा आउने तर बाहिरको निर्देशनमा असहमति जनाउने गर्नुभयो । सुरुदेखि नै यो समस्या आयो ।’ शिक्षा ऐनको व्यवस्थाअनुसार ज्येष्ठ सदस्यले अध्यक्षता गरेर अध्यक्ष मनोनित गरौँ भनी बैठक बस्न खोज्दा चारजना सदस्यहरूको असहमति जनाउँदै आएको बताए । उनका अनुसार चार जना सदस्यहरूले कृष्णकुमार राई ‘भुपाल’को नाम लिई अगाडि आएका थिए । ऐनअनुसार नमिल्ने कुरालाई अस्वीकार गरेपछि समस्या आएको हो । भुपाल नेपाली काङ्ग्रेस पार्टीका हुन् । 

एक स्रोतका अनुसार नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरूले भुपाललाई अध्यक्ष बनाइदिन आग्रह गर्दै शिक्षा महाशाखामा पुगेका थिए । विव्यासको अध्यक्ष हुनका लागि या त अभिभावकको तर्फबाट या त ऐनको दफा १२ (१) को ‘ग’ अनुसार आउनुपर्ने हुन्छ । उपदफा १ (ग) मा यस्तो व्यवस्था छ, ‘मनोनयन गरेको सदस्य विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर १० वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई १० लाख वा सोभन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेको एक जना महिलासहित दुई सदस्य रहनेछ ।’ ऐनको व्यवस्थाअनुसार सबै प्रक्रिया पूरा भए पनि अध्यक्षमा नै अड्को थापेका कारणले समस्या भएको स्थानीय बताउँछन् । 

यता भुपालले आफूले कहीकतै दाबी विरोध नगरेको बताउँदै भने, ‘त्यो विषयमा मेरो भन्नु केही छैन । शिक्षा ऐनले के भन्छ । मैले गर भनेर हुने हो र हजुर ! यो राख् भनेको भरमा त हुँदैन । निर्वाचित भएर पनि उहाँहरूले किन गर्न सक्नु भएन भन्ने प्रश्न मात्रै हो मेरो ।’ अभिभावकबाट निर्वाचित सदस्य सङ्गीता खड्काले भनिन्, ‘नगर शिक्षा समितिले खारेज गरेको भनेर हामीलाई कात्तिक २९ गते पत्र आयो । त्यसपछि मात्रै हामीलाई थाहा भएको हो ।’

त्यसपश्चात् निर्वाचित सदस्यहरू सहदेव योञ्जन, लील गुरुङ, कमला तामाङ, र आफू भई उच्च अदालतमा मुद्दा हालेको उनले बताइन् । उनले अन्य सदस्यहरूले नै आफूहरूलाई काङ्ग्रेसको प्रतिनिधित्व गरेको आएको भन्दै आरोप लगाउने गरेको बताइन् । उनले अध्यक्षमा भुपाल राई नै हुनुपर्छ भनेर अडान नलिएको दाबी गरिन् । ‘खै हामीले त्यस्तो भनेको छैन’ उनले फोनसम्पर्कमा भनिन् ।