धरान । नेपाल पत्रकार महासंघको आसन्न चुनावलाई लक्षित गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ समितिले कोशी प्रदेशमा समितिको चुनावमा उम्मेदवारी दिने भएको छ ।
महासंघको यही मंसिर २८ गते निर्वाचन हुन लागेको छ । केन्द्र, प्रदेश तथा ७७ वटै जिल्लाको चुनावमा पत्रकारहरु होमिएका छन् । फोनिजको प्रदेश समितिले आइतबार राति भर्चुअल बैठक बस्दै कोशी प्रदेशको चुनावमा अध्यक्षदेखि सदस्यसम्म पदाधिकारीमा उम्मेदवारी दिने भएको हो । फोनिजका १ नम्बर प्रदेश अध्यक्ष सन्तवीर लामाका अनुसार आइतबारको भर्चुअल बैठक र यसअघिको निर्णयानुसार उम्मेदवार दिन लागिएको हो । त्यसका लागि मनोनयन गर्न मोरङको विराटनगर पुगिसकेको उनले बताए ।
नेपाली पत्रकारिताको इतिहासमा फोनिजकर्मीहरुको पनि छुट्टै पहिचान रहेकाले पनि फोनिजबाट अध्यक्षसहित पदाधिकारीहरुमा मनोनयन गराउन लागिएको उनले बताए । अध्यक्ष लामाका अनुसार आफैले अध्यक्षसहित पदाधिकारीमा मनोनयन गराउन लागेको बताए । त्यसको लागि केन्द्रीय समितिलाई बोधार्थसमेत गरिसकिएको बताए ।
आज (सोमबार) एक विज्ञप्ति प्रकाशित गर्दै कोशी प्रदेशमा अध्यक्षसहित पदाधिकारीमा फोनिजले छुट्टै उम्मेदवारी दिने तयारी गरिएको उल्लेख छ । फोनिज प्रदेश अध्यक्ष लामा र सचिव सन्देश सुब्बाद्धारा हस्ताक्षरित विज्ञप्तिमा फोनिजले चुनावी मैदानमा होमिनका लागि गृहकार्य पनि यसअघि नै थालिसकेको जनाएको छ । सोहीअनुसार आज (सोमबार) हुने उम्मेदवारी मनोनयनमा उम्मेदवारी दिन लागेको हो ।