भद्रपुर । झापामा स्रोत नखुलेको नेपाली , भारतीय रुपैयाँदेखि अमेरिकी डलरसम्मको कारोबार भइरहेको खुलेको छ ।
नेपाली , भारतीय रुपैयाँदेखि अमेरिकी डलरसम्मको कारोबार भइरहेको विभिन्न घटनाले देखाएको छ । कारोबारीहरुले भरियामार्फत त्यस्तो कारोबार गर्ने गरेको पाइएको हो । केहीदिन अघि २९ हजार ७०० अमेरिकन डलरसहित गौरादह नगरपालिका–५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया पक्राउ परेका थिए । उनले सो रकम आफ्नो नभएर आफूले भरियाको काम गरिदिएको बताएका छन् ।
दमकको पूर्व बसस्टेन्डमा प्रहरी टोली देखेर मिया प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुवाहक बस चढेर भागेका थिए । दमकबाट पूर्वका लागि छुटेको सो बसलाई इलाका प्रहरी कार्यालय दमकका डिएसपी निशान थापाको कमान्डमा खटिएको प्रहरी टोलीले पछ्याउँदै कमल गाउँपालिका –३ केर्खा चोकस्थित पूर्वपश्चिम राजमार्गमा रोकेको थियो ।
बसमा चढेर भागेका मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान २९,७०० ( नेपाली दररेट १ डलरको १३५.८२ अनुसार रु.४०,३३,८५४) फेला परेको हो । उनलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरी कारबाहीका लागि राजस्व कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।
यसअघि मङ्सिर १६ गते झापा गाउँपालिका ५ खाताबस्ती पुलमा सशस्त्र प्रहरीको टोलीलाई देखेर एक व्यक्ति ५ लाख ५० हजार नेपाली रुपैयाँ भएको झोला छोडेर भागेका थिए ।
भापामा मात्र नभएर केही दिनअघि मोरङको रङ्गेली नगरपालिका–८ दर्वेसाकी ६५ वर्षीया ज्योतिदेवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरीको टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको एक हजार र पाँच सय दरका नेपाली रुपैयाँ ४७ लाख ४९ हजार बरामद भएको प्रहरीले जनाएको छ ।