विराटनगर । चिकित्सकहरुलाई आत्महत्या रोकथाम सम्बन्धि एक दिने प्रशिक्षण तालिम सम्पन्न गरेको छ । नेपाल चिकित्सक संघ कोशी शाखाको आयोजना उक्त तालिम विराटनगरमा भएको हो ।

संघको साईन्टिफिक समितिका कोर्डिनेटर डा. पार्थ गुराईगाईको अध्यक्षतामा शुरु भएको सो प्रशिक्षण कार्यक्रममा बरिस्ठ मनोरोग बिशेषज्ञहरु डा. रञ्जन थापा र डा. प्रभात चालिसेले प्रशिक्षण गराएका थिए । विराटनगर, ईनरुवा, रंगेली, उर्लाबारी, र दमकसम्मका ७० जना चिकित्सकहरु सहभागी भएको सो प्रशिक्षण कार्यक्रममा संघका सल्लाहकार डा. नारायण कुमार, डा. शंकर अधिकारी, पदाधिकारीहरु डा. शुनिल रेग्मी, डा. तेजेन्द्र कार्की, डा. अमर यादव, डा. प्रेक्षा दली, डा. रितेस कुमार सिंह र डा. राजाबाबु मण्डलको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संघका महासचिव डा. बालकृष्ण साहले गरेका थिए । संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले आउदो दिनमा समय सापेक्ष प्रशिक्षण तथा अन्य कार्यक्रमहरु संघले अगाडि बढाउने लक्ष्य राखेको बताए ।

विश्वमा प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्छन् ।  १५ देखि ३५ बर्ष उमेरका मानिसहरुको मृत्युुको दोस्रो प्रमुख कारण आत्महत्या रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालमा यसका घटना उच्च दरमा बढेको  तथ्यांक प्रस्तुत गरेका थिए । हरेक मानिसलाई बाच्ने चाहना हुन्छन् । तर पनि १ होईन एकैपटक धेरैवटा कारण थपिएकाले आत्महत्या रोज्न बाध्य गरेको चिकित्सकले बताए ।

यस अवस्थामा पुगेका मानिसहरुले कुनै न कुनै संकेत दिइरहेको भन्दै संकेतहरुका विषयमा अन्तक्रिया गराएर प्रशिक्षण गराईएको महासचिव डा. साहले बताए । पहिचान गरेर त्यस्ता व्यक्तिहरुमा उनीहरुमा रहेको बाच्ने ईच्छालाई पुनः जगाउनका लागि सबै चिकित्सकहरुले केही समय दिनुपर्ने बताए ।

कार्यक्रमको समापनमा सहभागीका तर्फबाट बोल्दै डा. शंकर अधिकारीले कार्यक्रमका लागि संघलाई धन्यवाद दिदै प्रशिक्षणले आफुहरु जस्तो पुराना चिकित्सकहरुले पनि केही नयाँ अपडेट भएको र नयाँ चिकित्सकहरुले पनि मार्गदर्शन भएको बताए । डा. अधिकारीले यस किसिमको प्रशिक्षण मासिक रुपमा नै अगाडि सार्न तथा बढ्दो सहभागी संख्यालाई समेटन् मेडिकल कलेजका हलहरुमा आयोजना गर्न सुझाव दिएका थिए ।