बिर्तामोड । फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ ।

स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

क्वार्टर फाइनलमा जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ । राष्ट्रिय टिमका नियमित खेलाडी उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, डिफेन्डर देवेन्द्र तामाङसहित मैदानमा उत्रिएको झापाले खेलमा फितलो प्रदर्शन गरेको थियो ।

जागृतिको जितमा मिलन लाई नायक बने । उनले दोस्रो हाफको ५३ र ६२ औँ मिनेटमा टिमको लागि गोल गर्न सफल भए । खेलको ५३ औँ मिनेटमा गोलपोस्टको २० यार्डमा झापाका डिफेन्डर विशाल दर्जीले जागृतिका मिलन राईलाई फाउल गरेका थिए । त्यसपछि पाएको फ्रिकिकलाई राईले नै सुन्दर गोल गरे ।

खेलमा दोस्रो गोल राईले नै गर्न सफल भए । ६२ औँ मिनेटमा झापाका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गरे । गोलकिपर सन्दीप लिम्बूलाई बिट गर्दै गरेको प्रहारले जागृतिको अग्रता दोब्बर बनायो ।

खेलमा झापाको प्रदर्शन अपेक्षाकृत फितलो रह्यो । विपक्षी पोस्टमा झापाले आक्रमक प्रयास गर्न सकेन । खेलको ४४ औँ मिनेटमा झापाका दयानन्द सिंहले डिबक्समा पाएको अवसर बाहिरियो । ५७ औँ मिनेटमा सिंहको लामो प्रहार विपक्षी गोलकिपरले पञ्च गरेर बचाउ गरे ।

१८ औँ मिनेटमा जागृतिका बिकु राईले पाएको बल गोल नहुँदा अग्रता लिने अवसरबाट बञ्चित भयो । ४१ औँ मिनेटमा मिलन राईले डिबक्सबाट गरेको कडा प्रहार गोलकिपर सन्दीप लिम्बूले उत्कृष्ट बचाउ गरे ।

खेलको प्लेयर अफ द म्याच जागृतिका २ गोलकर्ता मिलन राई भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । उनलाई झापा ११ का अध्यक्ष जलकुमार गुरुङ लगायतले ट्रफी प्रदान गरे । सोमबारको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुबटल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ ।

आर्मीले पहिलो चरणको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई हराएको थियो भने सलहेस क्लब सिराहा बाइ पाएर प्रतियोगितामा सहभागी भएको हो ।