भद्रपुर । झापामा मोटरसाइकल दुर्घटनामा परी दुई महिलासहित तीनजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार आइतबार राति १०.१० बजे दमक नगरपालिका वडा न.१० सेतुमारी चोकनजिक भित्री सडकखण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका वडा न. ८ बस्ने २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका वडा न.५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राई घाइते भएका थिए ।
उपचारको लागि तीनै जनालाई दमक अस्पताल दमक पठाएकोमा घाइते दुवै महिलाको उपचारको क्रममा राति ११ः३५ बजे मृत्यु भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको उनले जनाए ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार साँझ अन्दाजी ७ बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर–१० किरात चौकस्थित पूर्वपश्चिम राजमार्गमा को २ त ४१४५ नम्बरको ट्रयाक्टर रोकिराखेको अवस्थामा सोही पूर्व दिशातर्फ आउँदै गरेको मे ९ प ६२४ नम्बरको मोटरसाइकल ट्रयाक्टरको पछाडीको भागमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर–५ बस्ने ४२ वर्षीय सन्तोषकुमार लिम्बू र सोही मोटरसाइकलमा पछाडी सवार दमक नगरपालिका वडा नम्बर–५ बस्ने ३५ वर्षीया अनिता राई घाइते भएको उनले जनाए ।
घाइते दुबैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ७ः२० बजे मोटरसाइकल चालक लिम्बूको उपचारको क्रममा मृत्यु भएको डिएसपी चन्दले बताए । ट्रयाक्टर कालिका कन्स्ट्रक्सनको भएको र ट्रयाक्टर चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको उनले जानकारी दिए ।