बिर्तामोड । उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वाटरफाइनल खेलबाटै बाहिरिएको छ ।
सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औं मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो ।
सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरे । आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलरक्षक कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए ।
खेलको ३७ औं मिनेटमा सलहेशका जोराह ग्लोरीले डि बक्सबाट गरेको शक्तिशाली प्रहार दायाँ पोष्टमा लागेर बाहिरिएपछि खेलमा थप गोल गर्ने अवसरबाट बञ्चित भएको थियो ।
आर्मीले खेलमा बल पोजिसन राखेपनि स्कोर भने निकाल्न सकेन । खेलको २० औं मिनेटमा आर्मीका निरज भुजेलले बिपक्षी डि बक्समा पाएको बल सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार सलहेशका गोलरक्षक दिप कार्कीले सहजै नियन्त्रणमा लिए ।
५५ औ मिनेटममा आयुस तिमिल्सिनाले गरेको हेडर बिफल हुँदा आर्मीका समर्थक निरास भएका थिए । खेल अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए ।खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भए । उनले नगद १० हजार रुपैंयाँ पुरस्कार पाए । मंगलबारको क्वाटरफाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब ईटहरीबिच हुने आयोजकले जनाएको छ ।