धरान । झापाको दमक नगरपालिका–६ बसपार्कस्थित मिलन होटल एन्ड लजमा सिन्धुलीका एक व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुई महिलासँग एउटै कोठामा बसेका सिन्धुली ठेगाना भएका करिब ३४ वर्षीय इन्द्रबहादुर सुनुवार मृत भेटिएका हुन् । प्रहरीका अनुसार दुई महिलासहित होटल सञ्चालिकालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । महिलाहरूको पहिचान गोप्य राखिएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी निशान थापाले सोधपुछका लागि केहीलाई बोलाइएको फोनसम्पर्कमा बताए ।
‘यति उति जना नभनौँ, हामीले खालि सोधपुछका लागि बोलाएका छौँ । अनुसन्धान गर्दै जाँदा केही पत्ता लागेमा कानूनअनुसार अगाडि बढ्छ’ –उनले फोनसम्पर्कमा भने । यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार मृतकको वाह्य चोटपटक केही पनि नदेखिएको र पोष्टमार्टमको लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पठाइएको छ ।
उनले फोनसम्पर्कमा भने, ‘पोष्टमार्टमको रिपोर्ट कस्तो आउँछ । त्यहीअनुसार अगाडि बढ्छ । अहिले सोधपुछ भइरहेको छ । दोषी नउम्कियोस्, निर्दोष नफसोस् भन्ने मूलमन्त्रलाई ध्यान दिएका छौँ ।’ उक्त होटल एन्ड लजमा यौनधन्दा हुने गरेको प्रहरीले आशङ्का गरेको छ । मृतक व्यक्तिको परिचय खुल्ने कागजात भेटिएको छ । होटलको भूइँतलाको कोठामा उनी मृत भेटिएका थिए । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।