बिर्तामोड । न्युरोड टिम (एनआरटी) झापाको बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको हो ।

एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गर्न सफल भए । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए भने विदेशी खेलाडी एलेक्सको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

यसअघि खेलको ४२ औँ मिनेटमा एनआरटीका अञ्जन विष्टको प्रहार जागृतिका गोलरक्षक निरज चौधरीले बचाए । ७६ औँ मिनेटमा शिशिर लेखीले डिबक्सममा पाएको पासलाई फ्रेममा पार्न सकेनन् । ८३ औँ मिनेटमा नेमारको क्रसमा लेखीको हेडर गोलरक्षक चौधरीले पञ्च गरेर बचाए ।

जागृतिका लागि ५० औँ मिनेटमा खमिर गिल्सन कन्दङ्वाको कडा प्रहार एनआरटीका गोलरक्षक विशाल सुनारले पञ्च गरेर बचाए । ८२ औँ मिनेटमा योगेन्द्र कार्कीले २५ यार्ड टाढाबाट गरेको प्रहार फ्रेममा पर्न नसक्दा खेलको निर्णयको लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता एनआरटीका गोलरक्षक सुनार भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।  एनआरटी र चर्च ब्वाइज युनाइटेड उपाधीका लागि सोमबार प्रतिस्पर्धा गर्नेछन् ।